जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि आएका एमडीजीपी डाक्टर २ महिना नपुग्दै सरुवा

बाजुरा । जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि आएका एमडीजीपी डाक्टर २ महिना नपुग्दै सरुवा भएर गएका छन् ।

दुई महिना नबित्दै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित हुने भएको छ ।

तीन वर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडीजीपी डाक्टर बिहीन थियो । गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर जिल्ला अस्पताल बाजुरामा हाजिर भएका थिए । तर उनी आएको २ महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो ।

डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरा एमडीजीपी चिकित्सक बिहीन बनेको छ । ३ वर्षअघि निक साइमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले सेवा दिँदै आएका थिए । सेवा अवधि सकिएपछि महर्जनले तीन वर्षअघि बाजुरा छाडेका थिए ।

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्नेबारे विवाद सुरु भएको थियो ।

डाक्टर देवकोटा आउनु पहिले आठौं तहका मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए । तर नवौं तहका देवकोटा आएपछि उनी नै कार्यालय प्रमुख भए ।

त्यसैले जोशीले आफैं कार्यालय प्रमुख बन्न देवकोटाको सरुवा गराएको आरोप छ ।

जोशीले देवकोटाको सरुवा गराउन राजनीतिक दबाव दिएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीलाई काठमाडौं पठाएको आरोपसमेत लागेको थियो । तर कार्कीले फागुन ११ गते पत्रकार सम्मेलन गरेर आफू डाक्टरको सरुवाका लागि मन्त्रालय नगएको बताएका थिए । तर उनले पत्रकार सम्मेलन गरेको १४ दिन पछि डाक्टर देवकोटाको सरुवा पत्र आएको थियो ।

कार्कीले डाक्टर देवकोटा गए पनि हप्ता दिन भित्रै अर्को एमडीजीपी डाक्टर ल्याउने बताएका छन् । एमडीजिपी चिकित्सकको अभावमा बाजुरामा सामान्य खालका अप्रेसनसमेत हुँदैन । जसले गर्दा विरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

७,चैत्र.२०७९,मंगलवार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्