सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेकाको आबद्धता : यस्ता छन् शर्त र सुविधा
वि.सं.२०७९ चैत ९ बिहीवार ११:१५
shares

काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभारम्भ गरेसँगै पेन्सनसहितको सुविधा पाउने गरी वैदेशिक रोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन बाटो खुलेको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध वैदेशिक रोजगारीमा रहेको योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई पेन्सन दिइने छ ।
योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर, उससँग आश्रित आमाबाबुलाई पारिश्रमिकको ४० प्रतिशत पेन्सन दिइनेछ । योगदानकर्ताको आमाबुबाको बैकल्पिक आम्दानी भए वा अर्को विवाह गरेमा यस्तो सुविधा दिइने छैन । जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार सदस्य वा हकवालालाई २५ हजार काजक्रिया खर्च उपलब्ध गराउन सकिने प्रावधान छ ।
‘वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ मा रहेको यो व्यवस्था लागू भएको सामाजिक सुरक्षा कोषका प्रवक्तासमेत रहेका निर्देशक डा.रोशन कोजुले जानकारी दिए ।
उनका अनुसार पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति र काजक्रिया खर्च रहेको कार्यविधिमा समेटिएको छ ।
योगदानकर्ताको मृत्यु भए उसको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर पेन्सन पाउनेछन् । योगदानकर्ताको पति वा पत्नीको वैकल्पिक आम्दानी भएमा वा अर्को विवाह गरेमा भने यो सुविधा दिइने छैन । तर, वैकल्पिक आम्दानी स्रोत समाप्त भई वृद्ध अवस्था अन्तर्गत पेन्सन प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवेदन दिई पेन्सन सुविधा माग गर्न सकिनेछ ।
योगदानकर्ताको मृत्यु भएको अवस्थामा एक सन्तानले १८ वर्ष पूरा नभएसम्म र एकभन्दा बढी छन् भने शैक्षिक वृत्तिबापत आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम दामासाहीले पाउनेछन् ।
कति गर्नुपर्छ योगदान ?
वैदेशिक रोजगारीमा रहेको श्रमिक वा विदेशमा स्वरोगारमा रहेका व्यक्तिले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्नुपर्नेछ । तर, वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योजनामा औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकको न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा ३ गुणासम्म योगदान गर्न पाउनेछ । यस्तो योगदान रकम कोषले दुर्घटना तथा असक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत, वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत बाँडफाँट गर्नेछ ।
दुर्घटनामा परेको योगदानकर्ताले अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थाको एक लाख रुपैयाँसम्मको उपचार खर्च कोषले उपलब्ध गराउने छ ।
दुर्घटनाका कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले त्यो व्यक्ति काममा फर्कन सक्ने अवस्था नभएसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा उपलब्ध गराइनेछ ।
दुर्घटनाका कारण स्थायी असक्षमता (अपाङ्गता) भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानेर उसको असक्षमता प्रशितको आधारमा जीवनभर पेन्सन सुविधा दिने पनि व्यवस्था छ ।
सुविधा पाउन यस्तो छ शर्त
वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगारमा रहेको योगदानकर्ताले घटना भएको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा अनिवार्य रूपमा जम्मा गरेको हुनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोगारमा रहेका योगदानकर्ताको दुर्घटना वाफतको सुविधा र दुर्घटनाबाट असक्तता सृजना भएमा असशक्तता वापतको योजना अन्तरगतका सुविधा उपलब्ध गराइने उल्लेख छ ।
२०७५ मंसिर ११ गतेदेखि एमाले सरकारको पालामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आबद्ध गराउने यो कार्यविधि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले २०७९ मंसिर २५ गते स्वीकृत गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ७० को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी कोषले यो कार्यविधि बनाएको हो ।




















