प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ मन्त्रालय दिने प्रस्तावपछि कांग्रेसका गुट र उपगुट भित्र मन्त्री छनोटमा सकस
वि.सं.२०७९ चैत १४ मंगलवार २१:५४
shares

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गत पुस १० गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा सत्तारुढ दल नेपाली कांग्रेसले ८ जनालाई पठाउने भएको छ।
प्रधानमन्त्री दाहाल कांग्रेसबाट मन्त्रिपरिषद्मा एक उपप्रधानमन्त्री ६ मन्त्री र एक राज्यमन्त्री बनाउन चाहन्छन्। तर कांग्रेसका शीर्ष नेताबीचको छलफलबाट भने १० सांसदलाई मन्त्री बनाउनै पर्ने दबाब छ।
१० जनामध्ये जनामा पार्टी संस्थापन पक्षबाट ६ जनाले दाबी गरेका छन्। वाँकी ४ जनामा २ जना डा. शेखर कोइरालाको सिफारिसमा तथा एक–एक जना राष्ट्रपति डा. रामचन्द्र पौडेल र पूर्वमहामन्त्री डा. शशांक कोइरालाको सिफारिसमा मन्त्री बन्न लागेका हुन्।
मन्त्रिपरिषदमा पठाउने ८ जना मात्र भए पनि १० जनालाई पठाउनै पर्ने बाध्यताका कारण पार्टी सभापति शेरबहादुर देउवा निकै दबाबमा छन्। स्रोतका अनुसार दाहाल नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने पक्कापक्की छ।
खड्काले सरकारमा सहभागी हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार वा उर्जामध्ये एक मन्त्रालयको जिम्मेवारी लिएर जाने सम्भावना छ। खड्का पार्टीको संस्थापन पक्षधर नेता हुन्। संस्थापन पक्षबाटै पार्टी सहमहामन्त्री किशोरसिंह राठौर, प्रवक्ता समेत रहेका समानुपातिक सांसद डा. प्रकाशशरण महत र कांग्रेसबाट निर्वाचित एक मात्र महिला सांसद सीता गुरुङ मन्त्री हुने सम्भावना छ।
संस्थापन पक्षकै नेता पूर्वमन्त्री एनपी साउद र रमेश रिजालले मन्त्रीपरिषद्मा जाने दाबी गरेका छन्। देउवा पक्षधर नेताहरु खड्का कर्णाली प्रदेशको सुर्खेतबाट, राठौर लुम्विनी प्रदेशको बाँकेबाट, गुरुङ कोशी प्रदेशको तेह्रथुमबाट, साउद सुदूरपश्चिमको कञ्चनपुरबाट र रिजाल मधेश प्रदेशको पर्षाबाट निर्वाचित सांसद हुन्। डा. महत समानुपातिक सांसद भए पनि बागमतिको नुवाकोटबाट प्रतिनिधित्व गर्छन् ।
संस्थापनइत्तर पक्षबाट भने डा. शेखर कोइरालाको समूहबाट उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बु मन्त्री हुने पक्का छ। राष्ट्रपति पौडेलको सिफारिसमा तेजुलाल चौधरी र पूर्वमहामन्त्री डा. शशांकको सिफारिसमा दीपक खड्का मन्त्री हुने स्रोतले बतायो । गुरुङ गण्डकी प्रदेशको स्याङ्जाबाट र लिम्बु कोशी प्रदेशको मोरङबाट निर्वाचित हुन्।
चौधरी र खड्का क्रमश मधेश प्रदेशको सप्तरी र कोशी प्रदेशको संखुवासभाबाट प्रतिनिधित्व गर्छन । चौधरी र खड्का मन्त्रिपरिषद्मा राख्न नहुने भन्दै संस्थापन पक्षधरकै केही नेताको दबाब छ भने नवनिर्वाचित महिला सांसद सीता गुरुङको सट्टामा बरिष्ठ केन्द्रीय सदस्य कैलालीकी समानुपातिक सांसद इश्वरी न्यौपानेलाई मन्त्री बनाउन परिवार भित्रैबाट दबाब आएको बताइन्छ । मन्त्रीपरिषद्मा अटाए पनि सीता, तेजुलाल वा खड्काले राज्यमन्त्री मात्र पाउने सम्भावना रहेको बताइन्छ।






















