चैतमा पनि आयकरमा देखिएन सुधार, गत वर्षको भन्दा १५ अर्ब कमी
वि.सं.२०८० वैशाख ३ आइतवार ११:४२
shares

काठमाडौ । काठमाडौ चैत महिनामा पनि आयकर घटेको छ।
गत वर्षको तुलनामा यो वर्षको हरेक महिना राजस्व घटिरहेको सन्दर्भमा पुस महिनामा भने राजस्व बढेको थियो। सोहीअनुसार चैतमा पनि राजस्व बढ्न सक्ने अनुमान आन्तरिक राजस्व विभागले गरेको भएपनि तथ्यांकले सहयोग गरेको छैन।
पुस, चैत र असारमा राजस्व बढ्नुमा आयकरको हिस्सा बढी हुन्छ। आयकर ऐन २०५८ ले कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले पुस महिनाको अन्त्यसम्म ४० प्रतिशत र चैत महिनाको अन्त्यसम्म ७० प्रतिशत (थप ३० प्रतिशत) कर दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ। बाँकी रहेको ३० प्रतिशत भने असार मसान्तसम्म गरी १०० प्रतिशत नै अनुमानित आयको कर बझाउनुपर्ने हुन्छ।
गत वर्ष चैत महिनामा मात्रै ३६ अर्ब ७३ करोड आयकर असुली भएकोमा यो वर्ष १० प्रतिशत घटेको आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले जनाकारी गराए।
चैत महिनामा ३३ अर्ब ८ करोड ५७ लाख रुपैयाँ आयकर प्राप्त भएको छ। आयकरमा १० प्रतिशतले कमी आउँदा भन्सार महसुल चैत महिनामा ३४ अर्ब ३६ करोड उठेको छ। भन्साग विभागकले चैत महिनामा ५७ अर्ब २९ करोड उठाउने लक्ष्य राखेको थियो। गत वर्ष चैत महिनामा ४० अर्ब ७ करोड भन्सार महसुल उठेको थियो। यसले आयकरमा सुस्तता देखिएको आन्तरिक राजस्व विभागको बुझाइ छ। साथै भन्सार महसुलमा उल्लेखनीय कमी आएको छ।
नौ महिनाको अवधि (साउनदेखि चैत महिनासम्म)मा गत वर्षको तुलनामा १५ अर्ब रुपैयाँले आयकर कमी देखिएको छ। गत वर्ष चैतसम्म एक खर्ब ६५ अर्ब आयकर उठेकोमा यो वर्ष एक खर्ब ५० अर्ब रुपैयाँ मात्रै उठेको छ।
आयकर कम उठेको विषयमा आन्तरिक राजस्व विभागले अध्ययन सुरू गरेको जनाएको छ। उद्योगी व्यवसायीले भने आय नै घटेका कारणले कम भएको हुनसक्ने बताइरहेका छन्।
अन्य क्षेत्रबाट तथ्यांक हेर्दा कर योग्य कारोबार गरेको देखिएको तर विवरण र कर दाखिला नगरेको भन्दै गत महिनादेखि नै विभागले अध्ययन सुरू गरेको छ। आन्तरिक राजस्वले मूल्य अभिवृद्धि करको विवरण दाखिला गरेको, भन्सार तथ्यांक (आशिकुडा)अनुसार आयात-निर्यात गरेको एवम् त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टी भएको तथ्यांक प्राप्त गरेको तर विवरण र कर दाखिला नगरेको भन्दै कर नतिरेको आशंका गरेको छ।
गत वर्ष चैतमा उठेको राजस्वको तुलनामा आयकर र भन्सार महसुलबाहेक सबै शीर्षकको कर बढेको छ। घरबहाल कर एक अर्ब २७ करोड उठेकोमा दुई अर्ब ७५ करोड प्राप्त भएको छ।
ब्याजकर गत वर्ष चैतमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै उठेकोमा यस वर्षको चैतमा ६ अर्ब ३२ करोड उठेको छ। भ्याट गत वर्ष र यो वर्ष चैतमा १० अर्ब उठेको छ। अन्तःशुल्क गत वर्ष चैतमा ९अर्ब १२ करोड उठेकोमा अहिले ९ अर्ब ४७ करोड उठेको छ।
आन्तरिक राजस्व विभागले गत वर्ष चैत महिनामा ५७ अर्ब ५३ करोड राजस्व उठाएकोमा यो वर्षको चैतमा ५५ अर्ब दुई करोड उठाएको छ।
गत वर्ष चैतको तुलनामा यस वर्षको चैतमा दुई अर्ब कमी देखिए पनि ९ महिनासम्म उठेको राजस्वको तुलनामा भने करिब ५ अर्ब रुपैयाँले कमी देखिएको छ।






















