दूध बिक्री गरेवापतको रकम नपाएपछि किसानहरूले अनिश्चितकालीन गरे धर्ना सुरु
वि.सं.२०८० वैशाख ४ सोमवार १०:३८
shares

बुटवल । दूध बिक्री गरेवापतको रकम नपाएपछि किसानहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले दिनुपर्ने रकम लामो समयसम्म नदिएपछि किसानहरुले धर्ना सुरु गरेका हुन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दूध बेचेका किसानहरुले रकम नपाएपछि दबाब दिन धर्ना सुरु गरेका हुन् ।
लामो समयसम्म दूधको पैसा नदिएपछि दबाबका लागि किसानलाई नै आन्दोलनमा उतारेको सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले बताए ।
घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय रुपैयाँ र पाठक दूध डेरीले ११ लाख ६० हजार रुपैयाँ सहकारीलाई तिर्न बाँकी छ । ‘पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले बाध्य भएर अनिश्चितकालीन धर्नामा उत्रिनु परेको हो,’ सहकारीका अध्यक्ष घिमिरेले भने, ‘पाउनुपर्ने रकम चुक्ता नभएसम्म किसानहरु धर्नाबाट पछि नहट्ने भनेका छन् ।’
























