लुम्बिनी र गण्डकी प्रदेश जोड्ने पुल संचालनमा
वि.सं.२०८० वैशाख ६ बुधवार १२:४२
shares

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताका जीवनस्तरलाई माथि उठाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । विकासका धेरै उपलब्धीहरु प्राप्त गर्न राजनीतिक परिवर्तनपछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्ने उनले बताएका हुन् ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने रामपुर–सहलकोट–झ्यालबास सडक अन्तर्गत पाल्पाको रामपुर नगरपालिकाको निस्दीखोला मसानेघाटको पुल मंगलबार उट्घाटन गर्दै गिरीले भने, राजनीतिक परिवर्तनपछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्छ । यो ५ वर्ष ६ वर्षमा तुरुन्तै परिणाम आउने वाला छैन, मलाई लाग्छ एक दशक, दुई दशक, ढाई तिन दशकसम्म पुग्दा खेरी हामीले महत्वपूर्ण विकासका धेरै उपलब्धीहरु प्राप्त गरेर जनताका जीवन स्तरलाई माथि उठाउन प्रदेशले महत्वपूर्ण आफ्नो भुमिका जनताको बीचमा स्पष्ट पार्नेछ ।’
गिरीले प्रदेशका गौरवका आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकहरुको जीवनस्तर माथि उठाउन कृषि, पर्यटन, उद्योगमा क्रान्तिकारी परिवर्तनका साथ अघि बढ्न ठोस योजनासहित प्रदेश सरकार अघि बढेको बताए ।
यहाँका स्थानीयले उत्पादन गरेका सामाग्री तथा व्यापारिक सामग्री ओसारपसार गर्न सहज हुने बताएका थिए । गिरीले लुम्बिनीलाई कर्णाली प्रदेशसंग जोड्ने रामपुर–कपुरकोट सडकलाई तीव्रता दिने योजना बनाएको जानकारी दिए।
पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले पोखरा–रामपुर–सहलकोट–झ्यालबास सडकको गम्भारी खोला र निस्दी खोलाको ओइरेघाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै पाल्पाको पछाडि परेको पूवी क्षेत्रमा संघ र प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रणनैतिक सडकको रुपमा रामपुर खोप्टारदेखि रातोढिक–पन्थे–सहलकोट–झ्यालबास सडक स्तरोन्नतिका लागि प्रक्रियामा अघि बढेको र अधुरो योजनाको काम पूरा गर्नु आवश्यक रहेको बताएका थिए ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव राजेन्द्र थापाले विकासमा जनता र जनप्रतिनिधिको साथ भयो भने समय मै योजना सम्पन्न गर्न सकिन्छ भन्ने यस पुल निर्माणले प्रमाणित गरेको बताए । उनले रामपुर कपुरकोट सडकको विभिन्न खण्डमा यस वर्ष काम हुन गैरहेको जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनयर अमृत श्रेष्ठले प्रदेश गुरुयोजना बनाएर यातायातको मन्त्रालय अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिए । उनले पुल निर्माणसंगै संरक्षण र निगरानीमा स्थानीयको सहयोगको आवश्यकता रहने बताए ।
सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले ७० दशमलव ९ मिटर लम्बाई भएको दुई लेनको पुलमा भ्याटसहित ७ करोड ७३ लाख ६ हजार ७ सय ७१ रुपैयाँ लागतमा सम्पन्न भएको जानकारी दिए । दुई स्पानसहितको पुल इलाईट कन्ट्रक्सन काठमाडौले २०७६ फागुन ११ गते ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा सम्झौता गरी सोही वर्ष चैत्र १६ गते शिलन्यास गरेर निर्माण थालेको थियो । निर्माण व्यवसायी शिव श्रेष्ठले कार्यालयले गर्ने डिजाईन र फिल्डको वास्तविकता फरकहुँदा कतिपय निर्माणमा समस्या भए पनि यो पुल सबैको साथ र सहयोगले समयमै सम्पन्न गर्न सफल भएको बताएका थिए ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री चेतनारायण आचार्यले सरकारले समयमै काम पूरा गर्न सबै निर्माण कम्पनीहरूलाई सचेत गराइरहेको बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य युवराज खनाल र रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले स्थानीय अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जग्गादाता काशीनाथ खनाल र हेमबहादुर कार्कीलाई सम्मान गरिएको थियो । पुल अभावमा वर्षादको समयमा सास्ती भोग्दै आएका रामपुर नगरपालिका वडा नं। १, निस्दी गाउँपालिका वडा नं। १, २ र ३ लगाएतका स्थानीयहरुलाइ पुल सञ्चालनमा आएसंगै सहज भएको छ । यसले दुवै प्रदेशमा जान आउन सहज बनाएको छ




















