कांग्रेस संसदीय दलमा नयाँ बजेटबारे छलफल : अर्थमन्त्रीलाई सांसदहरूको यस्तो सुझाव
वि.सं.२०८० वैशाख १२ मंगलवार १४:२२
shares

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
संघीय संसद भवनमा सोमबारदेखि सुरू पार्टी संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माणको सल्लाह दिएका हुन् । बैठकपछि मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा केन्द्रित भएको बताए ।
सानो पूँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनको भनाई थियो ।
लेखकले भने, ‘बजेटका सिद्धान्त, प्राथमिकता, त्यसका आधारहरु के हुन् ? भन्नेबारे अर्थमन्त्रीज्यूले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवाल, शिक्षा, स्वास्थ्यका क्षेत्रकेन्द्रित कुरा उठेका छन् ।’
सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताए ।

























