वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी चम्पाको वेदना, अब छोराहरुसहित मैले विष पिउनमात्रै बाँकी छ

कैलाली । ‘बाबु मम्मीलाई धेरै नसताउनू । म आउँदा तिमीलाई साइकल ल्याइदिन्छु ।’

फागुन १० गते ९ वर्षीय अमृत टमट्टालाई बुवा उमेशले फोनमा भनेका थिए । ‘भाइलाई पनि’, अमृतले बुवालाई आग्रह गरे ।

९ वर्षीय अमृत र ७ वर्षीय आशिष बुवाले साइकल ल्याइदिने आसमा थिए । २४ वर्षीया चम्पा भने ६ वर्षपछि श्रीमान फर्किने कुराले हर्षित थिइन् ।

घोडाघोडी नगरपालिका- १० का उमेश वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा उनका जेठा छोरा ३ वर्ष र कान्छा छोरा एक वर्षका थिए । ६ वर्षसम्म रोजगारी गर्दा पनि आर्थिक अवस्थामा खासै सुधार नआएपछि फागुन अन्तिममा उनी घर फर्किने योजनामा थिए ।

आफू चाँडै घर फर्किने र दुई छोरालाई साइकल किन्दिने भनेका उमेशले आफ्नो रहर पुरा गर्नै पाएनन् ।

फागुन १४ गते उनको निधन भएको खबर उनका घरपरिवारले पाए । ‘उहाँले चाँडै आउने भन्नुभएको थियो । तर, कम्पनीका मान्छेहरूले उहाँको निधन भएको जानकारी दिए’, उक्त दिन सम्झँदै चम्पाले भनिन्, ‘मलाई त धर्ती नै फाटे जस्तो भयो ।’

६ वर्षपछि श्रीमानसँग भेट हुने आशामा बसेकी चम्पालाई त्यो फोनको विश्वास नै लागेन । ‘मलाई त होइन जस्तो लागेको थियो । पछि उहाँहरूले जे हुनुभयो अब लास पठाउँछौं भनेपछि विश्वास नगर्नुको विकल्प रहेन’, उनले भनिन् ।

मलेसियामा ज्यान गुमाएका उमेशको शव फागुन २२ गते नेपाल आइपुग्यो । शव नेपाल ल्याउन पनि उनीहरुले धेरै निकायको ढोका ढकढक्याउनु परेको थियो ।
‘उहाँको मृत्युपछि सुरुमा कम्पनी र सरकारले चासो दिएनन्’, स्थानीय निर्मल मिश्रले भने, ‘उहाँहरूलाई लिएर म धेरै ठाउँमा पुगें । त्यसपछि शव ल्याउन सरकारले चासो देखायो ।’

शव ल्याउन सरकारी निकायलाई दबाब दिएका स्थानीय मिश्र अहिले उनीहरुको अवस्था थप जटिल भएकाले राहत एवं क्षतिपूर्तिका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउँछन् ।

मिश्रले यसअघि पनि यहाँ आफ्नै पहलमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र पैसा अभावका कारण उपचार हुन नसकेकाहरूको उपचार गरेका थिए । ‘आज मजदुर दिवस हो । मजदुरी गर्न गएका नेपालीको ज्यान जाँदा उनीहरूलाई राहत र क्षतिपूर्ति दिनु सरकारको दायित्व हो’, मिश्रले भने, ‘यस विषयमा सरकार गम्भीर छैन ।’

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि उनीहरुको दुःखमा मलहम लगाउन नसकेको मृतक उमेशका दाजु बलदेव टमट्टाले गुनासो गरेका छन् । भाइको मृत्युपछि परिवारको बिचल्ली भएको उनको भनाइ छ ।

‘घरमा कमाउने भाइमात्रै थियो । उनको वैदेशिक रोजगारीमै रहँदा मृत्यु भएपछि घरमा बिचल्ली भएको छ’, उनले भने, ‘बुहारी पनि बिरामी छन् । दुई छोरालाई कसरी पाल्ने भन्ने चिन्ता छ ।’

फोक्सोमा समस्या भएकी चम्पा श्रीमानको मृत्युपछि विक्षिप्त छिन् । दुई छोरालाई कसरी हुर्काउने भन्ने उनलाई चिन्ता छ । ‘उहाँको पनि मृत्यु भयो अब हामी पनि केको लागि बाँच्नू’ उनले दुःखेसो पोखिन्, ‘अब छोराहरुसहित मैले पनि विष पिउनमात्रै बाँकी छ ।’

१८,बैशाख.२०८०,सोमबार १६:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्