पुनरागमन जितसहित चर्च ब्वाइज लिगको दोस्रो स्थानमा
वि.सं.२०८० वैशाख २० बुधवार १७:३९
shares

काठमाडौं । फ्रेण्ड्स क्लबसँग पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जितका साथ चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा चर्च ब्वाइजलाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको अन्तिम चार मिनेटमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे ।
१४औं मिनेटमै विदेशी डिफेण्डर बेन नास क्वान्साको गोलमा अघि बढेको फ्रेण्डस् अन्तिम समयमा सम्हालिन सकेन ।
चर्च ब्वाइजका लागि ८६औं मिनेटमा अन्जनले गोल गरी खेल बराबरीमा ल्याए । आशिषले ९०औं मिनेटमा विजयी गोल गरे ।
१४औं चरणको खेलमा ३ अंक थपेर चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ ।
समान १४ खेलबाट शीर्ष स्थानको जावलाखेलसँगै २४ अंक भए पनि गोलअन्तरमा चर्च ब्वाइज पछि परेको हो ।
१४औं चरणको खेलमा जावलाखेलले मंगलबार नेपाल पुलिससँग पराजय ब्यहोरेको थियो ।
शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो च्यासल मैदानमा बुधबारै भएको खेलमा सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ ।
खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ ।
१४ खेलबाट १७ अंक पुर्याएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।

























