पोखरा । पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको उत्कष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय त्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ । उपाधिसँगै दुवै खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।
पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेलेका उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् ।
यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।
करणले नेपाललाई आईसीसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चार वर्षसम्मलाई ओडीआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए ।
नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा शानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।
उनले तीन पटक ४ विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडीआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन् ।
उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्ने टिमका सदस्यसमेत हुन् । यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए ।
‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए ।
यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसाइली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्