काठमाडौ । काठमाडौ पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लामा विभिन्न सडक निर्माणको ठेक्का लिएर काम नगर्ने तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ।
काठमाडौंको हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सन, पर्वतको शिवालय निर्माण सेवा कुश्मा र काठमाडौंकै गजुरमुखी निर्माण सेवालाई १५ दिने स्पष्टीकरण सोधेको हो।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले विभिन्न बहाना देखाएर सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेका कारण ती निर्माण कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिए।
उनका अनुसार गजुरमुखी निर्माण सेवाले दिमुवा–रम्जा–चित्रे सडकखण्ड स्तरोन्नती, वाल लगाउने लगायतका काम गर्न सडक डिभिजन कार्यालय बागलुङसँग ०७२/०७३ मा सम्झौता गरेको थियो।
उक्त आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएपछि डिभिजन कार्यालयलले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको थियो।
आयोजनाको करिब ८१ प्रतिशत काम सम्पन्न भएपछि निर्माण कम्पनीले काम रोकेपछि स्पष्टीकरण सोधिएको आचार्यले जानकारी दिए।
स्पष्टीकरण सोधिएको अर्को निर्माण कम्पनी हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन, धापासीले ०७५/०७६ मा मिलनचोक– सल्यान–गहखेत–धारापानी–ठोट्नेरी सडक निर्माणको ठेक्का लिएको थियो।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २८ करोडमा सम्झौता भएकोमा तीन वर्ष बितिसक्दा पनि जम्मा ४२ प्रतिशत मात्रै काम भएकोले सो निर्माण कम्पनीलाई पनि स्पष्टीकरण सोएिको हो।
लमयाखोला–सुरङ्दी–बिरौटा–खलडाँडा–चुरी–रूङ्दी–तातोपानी सडक र चंखोला–भवानी विद्यापीठ–पिप्ले–लमयाछमी–पिप्ले–लमयाछमी–अर्चले–भंगारा–बयाले सडक स्तरोन्नतीका लागि शिवालय निर्माण सेवा कुश्माले ०७७/०७८ मा ठेक्का सम्झौता गरेको थियो।
९ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएकोमा अझै झन्डै २० प्रतिशत काम बाँकी नै रहेको र पटकपटक ताकेता गराउँदा पनि काम नगरेको कारण स्पष्टीकरण सोधिएको आचार्यले जानकारी दिए।
१५ दिनभित्र स्पष्टीकरणसहित छलफलका लागि नआएको खण्डमा ठेक्का तोड्ने प्रक्रियामा जाने आचार्यले बताए।
‘स्पष्टीकरणको जवाफसहित छलफलमा आए असारसम्म म्याद थप गरी निर्माण कार्य पुनः सुचारू गर्छौँ, आउनुभएन भने ठेक्का रद्द गर्छौँ,’ आचार्यले भने।
प्रतिक्रिया दिनुहोस्