कोशीमा हिक्मत सरकार ढाल्न कांग्रेसको दौडधुप, गठबन्धनका नेतालाई तारनतार दबाब

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशको सरकार परिवर्तन गर्न गठबन्धनका दलहरूलाई दबाब दिन थालेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समिति र प्रदेश संसदीय दलले आफ्नै पार्टीका शीर्षस्थ नेताहरूलाई पनि सरकार परिवर्तन गराउन भूमिका खेल्न भन्दै ध्यानाकर्षण गराइरहेका छन् । संसदीय दलका नेता र प्रदेश सांसदहरूले पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूलाई भेटेर तत्काल एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलाउन दबाब दिएका हुन् ।

एमाले-माओवादी सहितको गठबन्धनसँगै एमालेले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । केन्द्रमा कांग्रेससहितको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकार ढलिसकेको छ ।

अहिले कांग्रेसले संघीय सरकारका साझेदार माओवादी र जसपालाई हिक्मतलाई हटाउन दबाब दिइरहेको छ ।

यसका लागि संसदीय दलका नेता उद्धव थापा र केही प्रदेशसभा सदस्यहरूले पटक पटक पार्टी सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्षलाई भेटिसकेका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद केदार कार्कीले सरकार परिवर्तन हुनुपर्ने कुरामा दुईमत नभएको बताए । माओवादी र जसपाले एमालेलाई दिएको समर्थन फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

उनले भने,‘केन्द्रमा एउटा समीकरण हुने अनि प्रदेशमा अर्को समीकरण हुने भन्ने हुँदैन । माथि जे सहमति भएको हो तल पनि त्यही सहमति हुनु पर्छ ।’

उनले आफूहरूले सरकार परिवर्तनका विषयमा छलफल जारी राखेको सुनाए ।

कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले कांग्रेस सरकारमा जान चाहनु स्वाभाविक रहेको बताए । उनले माओवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताए ।

कोशी प्रदेश सरकारमा अहिले एमालेको नेतृत्वमा, माओवादी, राप्रपा र जसपाको साझेदारीमा सरकार बनेको छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशमा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ५७ जना सांसदको समर्थनमा एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेको छ ।

माओवादीका एकजना प्रदेशसभा सदस्य सभामुख बनेका छन् । कोशी प्रदेशमा बहुमत पुग्न ४७ सदस्य आवश्यक पर्छ ।

माओवादी र जसपा मौन

कोशी प्रदेशसभामा नेपाली कांग्रेसको २९ सीट र नेकपा एसको ४ सीट छ । गठबन्धन दल मिल्दा पनि यहाँ बहुमत पुग्ने अवस्था छैन । माओवादीबाट सभामुख बनेपछि गठबन्धनसँग ४५ सीटमात्रै पुग्छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था नभएको भन्दै माओवादीले यही सरकारलाई निरन्तरता दिन खोजेको छ । सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर अर्को सरकार बनाउन सक्ने अवस्था छैन ।

सरकार बनाउन सक्ने अवस्था नभएको अवस्थामा अस्थिरता निम्तायाउन यो सरकारलाई दिएको समर्थन फिर्ता नलिएको एक माओवादी प्रदेशसभा सदस्य बताउँछन् ।

उनी भन्छन्, ‘राप्रपा नयाँ गठबन्धनमा नआएसम्म नयाँ सरकार बन्न सक्ने अवस्था छैन । अहिले नै राप्रपा कांग्रेससहितको गठबन्धनमा नआउँदा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन सकिन्न ।’

उनले कोशी प्रदेशसभाभित्रको अंकगणित अन्य प्रदेशको भन्दा फरक भएको प्रदेशसभा सदस्य तथा प्रदेश सचिव गणेश उप्रेतीले बताए ।

२९,बैशाख.२०८०,शुक्रबार १४:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्