बादी समुदायका बालबालिकालाई एमआरआर अष्ट्रेलियाको सहयोग

सुर्खेत । बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका युवाहरूले साढे ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

वीरेन्द्रनगर –८ खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रित ११० जना बालबालिकाका लागी शनिवार एमआरआर सुर्खेतको समन्वयमा सामाग्री प्रदान गरिएको हो ।

बादी आवास गृहमा आश्रित बालबालिकाले विभिन्न अभाव झेलिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका सदस्यहरूले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको एमआरआर सुर्खेत संयोजक सागर लम्सालले जानकारी दिए ।

‘बादी आवास गृहमा रहेका बालबालिकाहरू थुप्रै अभावमा बाँचिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका साथीहरूले पैसा संकलन गरेर पठाउनु भएको थियो,’ संयोजक लम्सालले भने, ‘हामीले यहाँ समन्वय गरेर खाद्यान्न लगायत आवश्यक सामाग्रीहरू किनेर दिएका छौँ ।’

संयोजक लम्सालका अनुसार आवसगृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार कार्टुन तेल, सुजी र चिउरा पाँच÷पाँच प्याक, एक बोरा नुन र खुर्सानी दिइएको छ ।

यस्तै दुई थान पानी शुद्धीकरण फिल्टर, दुई थान माइक स्पिकर, १६ थान मच्छर भगाउने सामाग्री, पाँच लिटर हार्पीक्स, पाँच लिटर फिनाइल, १४४ थान स्यानेटरी प्याड, वाद्यवादनका साधन र दुई थान प्राथमिक स्वास्थ्य सामाग्री बक्स लगायतका सामाग्री वितरण गरिएको संयोजक लम्सालले जानकारी दिए ।

एमआरआर अष्ट्रेलियाका सदस्यहरुले ३ लाख ५७ हजार ५५५ रुपैयाँ संकलन गरेर पठाएको र सोही रकमले उक्त सामाग्री खरिद गरिएको उनले बताए ।

दीर्घकालीन रूपमै बादी समुदायका बालबालिकाहरूको समस्या कसरी समाधान गर्ने भन्ने बारे छलफल चलिरहेको एमआरआर सुर्खेका सदस्य रमेश विक्रम हमालले जानकारी दिए ।

‘हामीले क्षणिक मात्र नभई, दीर्घकालिन रुपमै समस्याको हल खोजिरहेका छौँ,’ हमालले भने, ‘यसलाई हामीले चरणबद्ध सरोकारवलाहरुबीच छलफल र पैरवी थाल्छौँ ।’ एमआरआर सुर्खेत ती बालबालिकाको हेरचाहमा निरन्तर खटिने उनको भनाई छ ।

बादी समुदायका अगुवा हिक्मत बादीले सडक छेउछाउमा मागेर हिँड्ने बालबालिकालाई एक ठाउँमा राखेर पढ्ने वातावरण बनाएका छन् । जस्लाई बादी सरोकार मञ्च नाम दिएका छन् ।

हिक्मतले बादी समुदायका बालबालिकालाई गाँसबास र कपासको व्यवस्थासँगै पढ्ने, लेख्ने वातावरण बनाई दिन सरकारलाई आग्रह गरे । ‘दाताको भरमा कति दिन मागेर खुवाउने ? सरकारले नै संरक्षणको जिम्मा लिइदिएको भए, हामीलाई थप सहज हुने थियो,’ उनले भने ।

बादी आवास गृहमा कर्णाली प्रदेशका १० जिल्लाबाट झन्डै ११० जना बालबालिका आश्रित रहेको र जसमा महिला, पुरुष ५५र५५ जना रहेको हिक्मतले बताए ।
सामाजिक सञ्जालमा चर्चित युवाहरूको समूह एमआरआरले विपन्न समुदाय, अपाङ्गता भएका, महिला बालबालिका र प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आएको छ ।

समूहको सदस्य संसारभरि छरिएका नेपाली युवाहरू करिब एक लाख भन्दा बढी रहेको एमआरआरका सदस्यहरूले बताए ।

३१,बैशाख.२०८०,आईतवार ०८:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्