राष्ट्रपति अस्वस्थ भएपछि सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने तयारी

काठमाडौं । सरकारले जेठ ५ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।

मङ्गलवार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने जानकारी गराए।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन छ। तर, यस पटक राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले प्रधानमन्त्रीले पढ्नेबारे छलफल भइरहेको कांग्रेसका प्रमुख सचेत रमेश लेखकले बताए।

उनले भने, ‘राष्ट्रपतिको स्वास्थ्यमा पूर्णरुपमा सुधार आइसकेको छैन। त्यसैले राष्ट्रपतिले अलिकति सुरु गरेर प्रधानमन्त्रीले पढ्ने कि भनेर छलफल भइरहेको छ।’

नीति तथा कार्यक्रम प्रधानमन्त्री पढ्ने विषयमा सबै दलहरुबीच सहमति भइसकेको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यसलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमै राखेर निर्णय गराउनुपर्छ। त्यही अनुसारको अहिले छलफल भइरहेको छ।’

प्रधानमन्त्रीले ४ गतेको बैठकमा संसदमा प्रश्नोत्तर गर्दैछन्। सरकारले संसद्मा उठेको विषयमा जवाफ नआएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रश्नोत्तर गर्न लागेका हुन्।

सरकारले जेठ १५ गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ।

२,जेष्ठ.२०८०,मंगलवार १२:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्