नेपालमै उपचार गरेर क्यान्सर जितेकी देविकाको सन्देशः आत्मबलबाट पराजित गर्न सकिन्छ रोग

रुपन्देही । गायिका देविका बन्दना केही वर्षअघि स्तन क्यान्सरबाट पीडित भइन् । भर्खर कोरोना महामारीको त्रास सुरु भएको समयमा उनलाई यो रोगका प्रारम्भिक लक्षण देखापरे । तर यस्तो प्राणघातक रोग लागेर उनी हतोत्साहित भइनन् ।कोरोना महामारीको बढ्दो अवस्थामा उनले धेरैलाई आफ्नो समस्या नबताइ निरन्तर उपचारमा लागिन् ।

यसको उन्मुक्तिको सबालमा उनको सकारात्मक र आशापूर्ण मनोवेग र उत्साहपूर्ण सङघर्षशील जीवनशैली सबैका लागि उदाहरणीय बनेको छ ।क्यान्सरजस्तो डरलाग्दो रोग भनेर प्रचार गरिएको अवस्थामा उनले यसलाई दबाएर पनि बसिनन् र कसैलाई थाहा नदिएर निरन्तर उपचार गरेर अन्ततः मुक्ति पाइन् ।

’कोरोनाको त्रास थियो, छातीमा दुःखाई भयो, स्तनमा गाँठा थियो, बढी दुख्दै गयो, रातो कालो हुँदै र दुख्दै गएपछि म थप उपचारमा अगाडि बढेँ’ बन्दनाले भनिन्,’सुरुमा बुटवलमै चेकअप गरेँ, परिवारकै सदस्य चिकित्सक भएकाले अरु धेरैलाई भनिन, मनोहरलाल श्रेष्ठसँग कन्सल्ट गरेँ, उहाँकै सल्लाहमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा डा. कपेन्द्र श्रेष्ठसमक्ष पुगेँ ।’

‘सबै परीक्षण गरेपछि क्यान्सर लागेको प्रमाणित भयो, थर्ड फेजमा पुगेको रहेछ, परिवारका केही सदस्यलाई मात्रै भनेर भने, अस्पतालमा पनि डक्टरहरुलाई यो विषयमा बाहिर कसैलाई केही नभन्न आग्रह गरेँ, बाहिर हल्ला भयो भने अनावश्यक सोधपुछ हुने, उपचारमा भन्दा मानसिक तनाब बढी हुने ठानेर सबैलाई गोप्य राखेर बलियो आत्मबल बनाएर उपचार गरेँ’ बन्दनाले आफ्नो संघर्षबारे सुनाइन् ।

करिब १ वर्षको उपचारपछि उनी पूर्ण स्वस्थ्य भइन् । त्यसपछि पनि डाक्टरको सल्लाहअनुसार कुनै समस्या छ कि भनेर निरन्तर फलोअप गरिरहेकी छन् केही समस्या छैन ।रोग त्यसको मूल कारण हो, देविका वन्दना कहिलै निराश भइनन् ।

निराशाको कालो बादल मनमा उत्पन्न हुन र मडारिन दिइनन् । त्यो समयमा उनले समयको भरपूर उपयोग गरिन् । बुटवल काठमाडौं आउने जाने क्रम चलिरहयो । आफन्तहरुसँगको भेट चलिरह्यो । रोग लागेको, निरास भएको विषय कहिल्यै कसैलाई सुनाइनन् । अस्पतालमा किमो चढाएपछि ४ दिनसम्म मात्रै उनी आराम गर्थिन् त्यसपछि उनी आफ्नो नियमित काममा फर्किन्थिन् ।

‘सुरुमा गायिका तारा थापालाई फोन गरेर सोधेँ, उहाँपनि पीडित हुनुहुन्थ्यो, उहाँले किमो चढाएपछि १०–११ दिन उठ्न नसक्ने बताएको तर आफूले ४ दिनपछि काममा फर्कन थालेको हुँ, त्यसैले पनि मैले अरुले भन्दा छिटो जित्नसक्छु भन्नेमा ढुक्क थिएँ, र भएँ’– बन्दनाले सुनाइन् ।

उपचारको त्यो समयमा उनले बाँकी सिक्न पर्ने नयाँ नयाँ सीप कौशलहरु सिकिन् । युटूवको माध्यमबाट नयाँ नयाँ परिकारहरु बनाउन् सिकिन् । वाद्यवादनमा थप प्रवीण बनिन् । सामाजिक सम्बन्धलाई अरु प्रगाढ र मैत्रीपूर्ण बनाइन् । सपना साँचेर आशाको तन्तुमा बाँधिएर दीर्घजीवन पार्न सकिने सन्देश दिइन् । गीत संगीतको संसारमा अरु रमाइन् । उनी कसैको दया र करुणकी खानी बन्न चाहिनन् ।

कसैले विचारा भन्लान् र टीठलाग्दो भएर बाँच्न नपरोस् भनी कसैलाई पनि रोगको विषयमा बताइनन् । उनले केवल सरोकारवालासँग मात्र बताइन् । यो उनको अन्तस्करणको स्वाभिमान हो । उनले टिकटकको प्रयोग गरिन् । उत्तरआधुनिक प्रविधिको प्रयोगले उनलाई अपडेट बनायो । सयौं गीतहरु गाइन् । नयाँ नयाँ ड्रेस डिजाइन् गरिन् ।

कोरोना त उनको लागि पट्यारलाग्दो अभिसाप हैन, उपलब्धिको रुपमा खुसी आयो । गीतका ट्रयाकहरु बनाउने, मिक्सिङ्ग गर्ने, सम्पादन गर्ने, अभिनय गर्ने, संगीत भर्ने, गाउने, भोकल डब गर्ने, क्यामरा खेलाउने निर्देशक बन्ने, विभिन्न संगीत महोत्सवमा सक्रिय भएर भाग लिने काममा समय बिताइन् ।

यही सक्रियताले उनलाई क्यान्सरजस्तो प्राणघातक रोग भुलायो । वास्तवमा आकूलता र ब्याकूलताले मन मर्छ । जीवनप्रति वितृष्णाबोध हुन्छ । जीवन विसंगत बन्छ । संगति नष्ट हुन्छ । त्यही बेलामा रोगप्रतिरोध क्षमता घट्छ र जीवन लीला समाप्त पार्छ । यो मनोविज्ञानको विज्ञता उनमा देखिन्छ । उनी गिर्खा हेर्दै रुँदै र छाम्दै थपक्कै बसिनन् ।

शुरुदेखि नै श‌ंकाको किरो मनमा सुटुक्क पसेर गम्भीर बनाए पनि त्यसलाई मानसिक उहापोहभन्दा पनि सन्तुलनमा राखेर रोग दबाउन सक्ने क्षमताको विकास गरिन् । उनले शुरुमै रिमोट कन्ट्रोल आफ्नो हातमा छैन भनी टिबी च्यानलको उदाहरण दिए पनि उनले त्यो रिमोट आफ्नो लागि आफ्नै आत्माबाट चलाइन् । वास्तवमा हाम्रो रिमोट अरुले कन्ट्रोल गर्ने हो भने अरुको भइन्छ । अरुले हिंडाउँछ ।

त्यसैले आफ्नो रिमोट आफ्नै आत्माले चलाउने हो । परात्माले चलाउन दिनु हुँदैन भन्ने कुरा घुमाउरो रुपमा देखिन्छ । किनकि उनले आफ्ना मनका च्यानल आफै खोलेकी छन् । आफ्नो कर्म आफै गरेकी छन् । आफ्नो भाग्य आफै निर्माण गरेकी छन् ।

क्यान्सर लागेको जानकारी, क्यामोपोर्ट जडान, किमो थेरापीको समयमा उनमा देखिएका धैर्यता, साहस र आशा उदाहरणीय छ । उनी नेपाली चिकित्सकहरुप्रति कृतज्ञ छन् । संगीतकारहरु कलाकारहरुप्रति उच्च सम्मान गर्छिन् । यसले उनलाई आत्म स्वाभिमान बनाएको छ । दैनिक योगा, ध्यान, प्रणायम, जुम्बा डान्स गरिरहिन् । यो आख्यानात्मक कृतिको भाव पक्ष यही हो ।

उनको यो संघर्षबाट धेरैलाई एउटा सन्देश दिएको छ, पे्ररणा दिएको छ, संघर्षबाट नै हरेक समस्याको समाधान खोज्न सकिन्छ । उनको जीनको उत्कर्ष नेश्नल एवार्डहरुबाट उत्तरोत्तर हुँदै वल्र्डबुक अफ रेकर्डसम्म पुग्यो । वल्र्डबुक अफ रेकर्ड लन्डनले उनलाई सामाजिक काममा अवार्डको लागि छनोट गर्‍यो । यो निकै महत्वपूर्ण उपलब्धि थियो । हामी नेपालीको गर्व पनि हो । यही उत्कर्षमा उनको उच्च व्यक्तित्व झल्कन्छ ।

संगीत क्षेत्रमा शिखर प्रतिभा देविका बन्दनाको यो संघर्ष साँच्चिकै उदाहरणीय छ । उनलाई चिन्ने धेरैलाई यो विषय उनी आफैले आफ्ना अनुभव समेटेर निकालेको जित्नेको हाँसो (Winner´s Gale) पुस्तकपछि जानकारी भएको हो । नेपाली र अंग्रेजी भाषामा छापिएको यो पुस्तक उनका अनुभव समेटेर नाट्य कलाकार चिरन बरालले शब्दमा उतारेका छन् भने लेखक तथा अध्यापक माधव कुमार पौडेलले अंग्रेजीमा अनुवाद गरेका छन् ।

समीक्षक ऋषि आजादका अनुसार जित्नेको हाँसो (Winner´s Gale)प्रेरणादायी आत्म कथा हो । साङ्गीतिक क्षेत्रमा उत्कृष्ट स्वरकी धनी देविका बन्दनाले क्यान्सर रोगविरुद्ध सकारात्मक सोंचका साथ लड्दै भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आत्मबललाई अलिकति पनि खस्न नदिएर रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा क्यान्सर रोगीको लागि त यो मनोवैज्ञानिक उपचारको राम्रो पाठ्य सामग्री बनेको छ । यसबाट धेरै क्यान्सर रोगीले सकारात्मक शिक्षा पाउँछन् ।

उनको यो कृतिका विषयमा संस्कृतिविद् सत्यमोहन जोसीले यो पुस्तक क्यान्सर रोगसँग कसरी लड्न सकिन्छ भन्ने कुराको बलियो आधार र खुराक भएको उल्लेख गरेका छन् । वरिष्ठ संगीतकार सम्भुजित बास्कोटाले देविका वन्दनाले प्रभावशाली मनोबलका साथ हाँस्दै रमाउँदै संयम हुँँदै अरु कसैलाई मानसिक पीडा नदिएर एक्लै लड्दै रोगलाई जित्न सफल उनीप्रति अत्यन्त श्रद्धा भावना जागेर आएको बताएका छन् भने वरिष्ठ संगीतकार बसुन्धरा भुषालले क्यान्सलाई जितेर रोगमुक्त भएकी उनको अनुभव र भोगाइृको वृत्तान्त यो किताब अरु विरामीका लागि प्रेरणा र रोगसँग लड्ने क्षमता बढाउन महत्वपूर्ण खुराक बन्ने बताएकी छन् ।

वरिष्ठ गायक उदित नारायण झाले रोगसँग लड्दै आफूलाई हरपल क्रियाशील राख्दै गीत संगीतमा डटेर लागिरहनी बन्दनाको त्यो हिम्मत साहस र आत्मबललाई उच्च सम्मान गरेका छन् भने माइती नेपालको संस्थापक अध्यक्ष अनुराधा कोइरालाले देविकाले बलियो रोगलाई जित्न संभव बनाएर देखाइदिएको बताउँदै क्यान्सर भएको थाहा पाउँदा दुःख त लाग्यो नै, तर त्यो भन्दा बढी तिमीले यस रोगलाई जित्न जुन प्रयत्न गर्‍यौ त्यो तिम्रो आत्मबललाई मनैदेखि सलाम भनेर उच्च सम्मान गरेकी छन् । बन्दनालाई जस्तै यस्तो रोग लागेर आत्तिनेहरुलाई यी सन्देशले थप प्रेरणा दिने र आत्मबल बढाउने छ ।

बन्दनाको जित्नेका हाँसो पुस्तकलाई शब्दलाई उतारेका लेखक चिरन बरालले उहाँले सुनाएका शब्दका आधारमा पुस्तक तयार भएको बताउँदै संघर्ष र प्रेरणाको सन्देश पुस्तक भएको बताए । पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेका लेखक माधव कुमार पौडेलले गायिकाले क्यान्सर रोगको उपचार नेपालमा संभव भएको, उच्चआत्मबलले गम्भीर रोगलाई जित्न सकेको बलियो सन्देश दिएको र यस्तो रोग लागेका धेरैलाई यो प्रेरणाको स्रोत बन्ने बलियो आधार भएको बताए ।
पुस्तक र भिडियोको उस्तै चर्चा

गायिका बन्दनाले आफ्नो यो संघर्षको विषयलाई जोडेर पुस्तक मात्रै होइन भिडियो पनि तयार गरेर आफ्नो युटुव च्यानलमा राखेकी छन् जुन अहिले चर्चामा छन् । उपचारको सुरुवाती चरणदेखि दिपक श्रेष्ठ र दिपांशु श्रेष्ठलाई अत्यन्तै गोप्य तरिकाले यसको भिडियो उनले लिन लगाइरहेकी थिइन् ।

उनले चाहेजसरी दिपक र दिपांशुले सबै भिडियो तयार गरेर राखे अनि उनको सबै संघर्षसहितको भिडियो देबिकाबन्दना च्यानलमा राखेकी छन् । अहिले देश तथा विदेशका विभिन्न व्यक्तिले उनलाई यो विषयमा चासो राखिरहेका छन् । पुस्तक र भिडियो उसैगरी सबैको खोजीको विषय बनेको छ ।

बन्दनालाई अहिले लागेको छ–बिरामी भएको बेला निराz भएर सुतेको मात्रै भए अहिले सबैतिरबाट पाएको यो वाहीवाही सबै गुम्ने थियो । आफ्नो यो संघर्षमा साथ दिने परिवारका सदस्य तथा निकटस्तहरु(जसलाई मात्रै उनले बिरामी परेको खबर गरिन्), उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, भिडियो तथा पुस्तक तयारमा साथ दिने पात्रहरु, अहिले निको भएपछि पनि उच्चसम्मानका साथ दिने आफन्तजन,शुभेच्छुक सबैलाई सधैभर स्मरण गर्दै नयाँ जीवनलाई थप रचनात्मक बनाउने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

६,जेष्ठ.२०८०,शनिबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्