उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुने गरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने बताएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताउनु भएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए ।

भेटमा उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।

६,जेष्ठ.२०८०,शनिबार १४:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्