न्युजिल्याण्डमा ७० औं सगरमाथा दिवस मनाइँदै

एजेन्सी । न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेको स्मरण गर्दै न्यूजिल्याण्ले सगरमाथा दिवस मनाउन लागेको छ।

मे २९ मानव इतिहासमा एक प्रशंसनीय कदम भएको भन्दै यो उपलब्धिको उच्च सम्मान गर्दै सन् २०१४ देखि गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा दिवस मनाउँदै आएको छ।

सगरमाथामा मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरलाई विशेष रूपमा मनाउन न्युजिल्याण्डको अक्ल्याण्डमा मे २७, ह्यामिलटनमा मे २८ र वेलिंगटनमा मे ३१ मा विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउन लागिएको हो।

कार्यक्रममा न्युजिल्याण्डमा रहेका विभिन्न मुलुकका सगरमाथा आरोहीलाईसमेत सम्मान गर्दै हिमाल आरोहणसँग जोडिएका महत्वपूर्ण पक्षको स्मरण गरिने भएको छ।

सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रस्टले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य पर्यावरणलगायत क्षेत्रमा उल्लेखनीय कामहरू गर्दै आएको र यी कामलाई निरन्तरता दिन पनि सगरमाथा दिवसले सघाउ पुर्‍याउने आयोजकले लक्ष्य राखेको छ।

७० औं सगरमाथा दिवसलाई सफलताका साथ सम्पन्न गर्न गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड, हिमालयन ट्रस्ट, अवैतनिक वाणिज्यदूतको कार्यालय, अस्ट्रेलियास्थित नेपाली दूतावास, न्युजिल्याण्डमा रहेका नेपाली संघ संस्थाहरू र यहाँको नेपाली समुदायको आपसी सहयोग रहने र आगामी दिनहरुमा हिमाल अरोहणसंग निकट न्युजिल्याण्डका सरकारी तथा गैर सरकारी संस्थाहरु बीच पनि सौहार्दतामा वृद्धि हुने विश्वास गरिएको छ ।

७० औं सगरमाथा दिवस को आयोजनाबाट सगरमाथा सहित नेपालका अन्य उच्च हिमाल आरोहणमा प्राप्त साहसिक उपलब्धिहरुको महत्वमा वृद्धि हुने, नयाँ पुस्तालाई हिमाल अरोहणप्रति आकर्षण गर्न सघाउ पुर्‍याउने र साथै न्युजिल्याण्ड र नेपालबीचको सम्बन्धलाई थप गाढा बनाउन मद्धत पुग्ने आशा गरिएको छ।

पहिलाका वर्षहरूझैं यस आयोजनालाई न्युजिल्याण्डमा रहेका संचार माध्यमहरुले उत्सुक्तापूर्वक हेरिरहेको पनि पाइन्छ।

७० औं दिवस परेको विशेष समयमा २९ मे का दिनलाई न्युजिल्याण्डमा खास रुपमा चिनाउन न्युजिल्याण्डको क्यालेन्डरमा महत्वकासाथ समावेश गर्नको लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिने योजना रहेको पनि गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले जनाएको छ।

८,जेष्ठ.२०८०,सोमबार ०९:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्