कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई कांग्रेसकोऔपचारिक पत्र

विराटनगर । कोशी प्रदेश सरकारमा रहेको नेकपा माओवादी केन्द्रलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले औपचारिक पत्र पठाएको छ ।

सङ्घीय गठबन्धनअनुसार कोशी प्रदेशमा गठबन्धन नभएको भन्दै एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसले माओवादीलाई पत्र पठाएको हो ।

जेठ ४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो । निर्णय भएको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई पत्र पठाएका हुन् ।

पत्रमा अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ । पत्रमा गठबन्धन दलहरूको मर्म र भावनाअनुरूप कोशी प्रदेशमा पनि सङ्घीय गठबन्धनअनुरूप नै सरकार गठन गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्र प्राप्त भएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।

उनले आफूलाई प्राप्त भएको पत्र प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई पठाउने बताए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन’, उनले भने, ‘यसबारेमा केन्द्रबाट कुनै निर्देशन र सल्लाह भएको छैन । पत्र प्राप्त भएपछि यसबारेको जानकारी पार्टीलाई गराउने छु ।’

बजेट र विधेयकहरू पास गर्ने नगर्ने विषयमा आफैं निर्णय गर्ने भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयमा भने केन्द्रको निर्देशन पर्खिने आङ्वोले बताए । उनले पार्टी केन्द्रले दिएको निर्देशन र निर्णयअनुसार प्रदेशले काम गर्ने बताए ।

९,जेष्ठ.२०८०,मंगलवार २०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्