नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जनाको बयान जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान हुने शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको छ।

१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुने छ ।

शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन ।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ । इजलासले त्यसपछि उनीहरुलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

१२,जेष्ठ.२०८०,शुक्रबार ०९:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्