लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

रुपन्देही । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ ।

प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा रहेका छ प्रदेशका १२ जिल्लामा रहेका उद्योगमध्ये ५० प्रतिशत उद्योग रुपन्देही र नवलपरासीको कोरिडोरमा रहेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले अन्तर्राष्ट्रिय वित्त निगमसंगको अन्तरक्रियामा यस्तो तथ्यांक प्रस्तुत गरेका छन् ।

उनले लुम्बिनी प्रदेश बैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मुलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको बताए । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिव २५ हजार र करिव १ लाख ५० हजार व्यवसायिक प्रतिष्ठान रहेको उनले जानकारी दिए ।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग किमि छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा बनप्रदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उनले बताए ।

उनका अनुसार राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।लुम्बिनी प्रदेशमा दुई औधोगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् ।

यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औधोगिक क्षेत्र, बाकेमा नौवस्ता औधोगिक क्षेत्र रहेका छन् । यी औधोगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाईले उद्योग विस्तार र वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उनले बताए ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा व्याजदरमा भएको अस्वभाविक बृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आईसिएफ) का प्रमख, आवासिय प्रतिनिधि बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशहरूमा बजार र अवसरहरू सिर्जना गर्न पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सय भन्दा बढी देशमा काम गर्दै आएको जानकारी बताए ।

यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवाहरू विद्युत, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरू विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उनले बताए । उनका अनुसार आईएफसी माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो । जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो ।

प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिङ्क, चाउचाउ, जुत्ता–चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगलपत्ती ब्लक, कङ्क्रिट, रेडिमिक्सलगायतका दर्जनौँ उद्योग सञ्चालनमा छन् ।

१२,जेष्ठ.२०८०,शुक्रबार १२:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्