महोत्तरीको एनएमबि बैंक लुटपाट : प्रहरी प्रमुख भन्छन्, ‘स्क्रिनिङ गरिरहेका छौं, कसैलाई पक्राउ गरेका छैनौं’

काठमाडौं । महोत्तरीको एनएमबि बैंक लुटपाटमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चार जना व्यक्ति प्रवेश गरी पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।

महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले हुलियाको आधारमा लुटेरासमूहको खोजी जारी रहेको जानकारी दिए । ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं,’ एसपी मल्लले भने, ‘तर कसैलाई पक्राउ गरेका छैनौं ।’

उनका अनुसार नेपाल-भारत सिमानामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी छ ।

‘लुटपाटमा चार जनाको टोली छ । एक तला माथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’ एसपी मल्लले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।

सो समूहले करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।

१७,जेष्ठ.२०८०,बुधबार १०:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्