विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भोलि बिहीबार ५ वर्षका लागि १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र २०८५ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल बिहीबार हुनेछ भने निष्कासन १९ जेठमा हुने छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

ऋणपत्रको बोलकबोलका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलबाट नै तय हुने र ऋणपत्र धितोमा ऋण लिन र दिन सकिने राष्ट्र बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रबाट आर्जित ब्याजमा ब्याजकर लाग्छ ।

ऋणपत्रको बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्कासित रकमको ८५ र अप्रतिस्पर्धी बोलकबोलका लागि १५ प्रतिशत रकम छुट्याएको राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धीलाई छुट्याइएको रकमको लागि पुरा बोलकबोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धीलाई बिक्री गरिने र अप्रतिस्पर्धीलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

१७,जेष्ठ.२०८०,बुधबार १४:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्