विराटनगर महानगरमा डिजिटल साक्षरता शुरु गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागू गर्ने तयारी गरेको छ ।

महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषय विज्ञसित छलफल गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए ।

उनले प्रविधिमार्फत घरमै बसेर पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने अवस्था रहेको उल्लेख गरे ।

त्यसका लागि अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्न बनाउनु आवश्यक रहेको औँल्याए ।

शिक्षकहरू पनि समय अनुसार चल्न सिक्नुपर्ने उनको भनाइ थियो । कोइरालाले तीनै तहको सरकार बिच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकेको प्रस्ट पारे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिइन ।

विराटनगरको सामुदायिक विद्यालयहरूमा डिजिटल साक्षरता शुरु गर्न सहयोग गर्ने इक्वालिटी फाउन्डेसनले प्रतिबद्धता जनाएको छ ।

पूर्व विद्यार्थी समाज, आमा समूह गठनसँगै गैर आवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागू गर्न सहजीकरण गर्ने इक्वालिटी फाउन्डेसन अमेरिकाका अध्यक्ष प्रा। मेदनी अधिकारी प्रतिबद्धता जनाए ।

उनले प्रविधिमा आधारित शिक्षा लागू भएमा मात्रै उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा सक्षम हुने धारणा राखे ।

विदेशमा रहेका थुप्रै नेपालीहरूले आफ्नो मातृभूमिको सेवा गर्नका लागि उपयुक्त अवसर र माध्यम खोजिरहेको समेत उनले उल्लेख गरे ।

२२,जेष्ठ.२०८०,सोमबार ०७:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्