काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

विधेयकले सिन्दूरसँग नागरिकता साट्ने काम गरेको भन्ने लागेपछि विरोध गर्नु स्वाभाविक

3.35K
shares
khanepani bord

बिहे गर्नेबित्तिकै नागरिकता पाउने व्यवस्था भर्खर प्रमाणित भएको विधेयकले गरेको हो भन्ने धेरैलाई लागेको र लगाइएको रहेछ । अरू त अरू रवि लामिछानेलाई पनि यस्तै लागेको रहेछ । यो विधेयकले सिन्दूरसँग नागरिकता साट्ने काम गरेको भन्ने लागेपछि विरोध गर्नु स्वाभाविक भयो ।
त्यस्तो कानुनका लागि विधेयक ल्याउनु जरूरी छैन । त्यो दशकौंदेखि छँदै छ । बरु त्यो बदल्नका लागि अर्को विधेयक ल्याउन सकिन्छ । केही मधेशी दलबाहेक अन्य सबै दल त्यो कानुन बदल्न राजी नै देखिन्छन् । त्यस्तो विधेयक आयो भने सजिलै पास हुन्छ ।

कसले बनायो त त्यस्तो कानुन भन्ने लागेको होला । नेपालमा नागरिकतासम्बन्धी कानुन बनेदेखि नै यस्तो व्यवस्था रहेछ । २०६३ सालमा संसदबाट आएको नागरिकता ऐनले छलफल र सहमतिमा यसलाई निरन्तरता दिएको रहेछ । आजको नागरिकता कानुन त्यही हो । हामीले बंशजको नागरिकता पाउने कानुन पनि त्यही हो । त्यो कानुन बनाउँदा रास्वपाबाहेक अहिलेका मुख्यजसो सबै नेता संसदमा थिए । केपी ओलीदेखि निवर्तमान राष्ट्रपति विद्या भण्डारी, शेरबहादुर देउबादेखि प्रचण्डसम्मले मिलेर बनाएको ऐनमा यो व्यवस्था छ । आफै बनाएको कानुन राष्ट्रघाती भए त्यसको जिम्मा लिन पर्ने या नपर्ने के होला ?
त्यसैले बिहे गर्नेले नागरिकता नपाएर विधेयक ल्याउनुपरेको होइन । तिनले पाइरहेका छन् । नपाएको भनेको आमाबुबाको जन्मसिद्ध नेपाली नागरिकता भएको र यहीँ जन्मेहुर्केका बालबच्चाहरूले हो । आमा नेपाली नागरिक रहेको र यहीँ जन्मेहुर्केको तर बाबुको पहिचान खुल्न नसकेको या खुलाउन नचाहेको हरूले हो । अनाथालय या बालगृहहरूमा हुर्के बढेका बालबच्चाहरूले हो र गैरआवासीय नेपालीहरूले राजनैतिक अधिकारबिनाको परिचयपत्रजस्तो नागरिकता हो । यी सबै नागरिकता संविधानले नै ग्यारेन्टी गरेकाले दिनु या नदिने भए दुई तिहाईले संविधान बदल्नु जरूरी हुन्छ ।

२०६३ सालको संविधानले विभिन्न कारणले बंशजको नागरिकता लिन नसकेका तर यहीँ जन्मेर निरन्तर नेपालमा बस्दै आएकाहरूलाई गाउँपालिका या सम्बन्धित निकायको सिफारिशसहित एकपल्टका लागि जन्मसिद्ध नागरिकताको व्यवस्था गरेको थियो । अहिले त्यस्तो व्यवस्था छैन । त्यतिबेला नेपालमा जन्मेका र बस्दै आएका केही गैरनेपालीले समेत नागरिकता लिएको आशङ्का गरिएको थियो । त्यस्ता केही नागरिकता छानबिन भएर खारिज भएका उदाहरण पनि छन् । तर, मुख्यतः आमाबुबाले कहिल्यै नागरिकता नबनाएका तर पुस्तौंदेखि यही भूमिमा रहेका, भूमिहीन भएकाले लालपूर्जा र तिरो तिरेको रसीद नभएका, दलित, पिछड़िएको वर्ग, चेपाङ्, राउटे जस्ता यसअघि नागरिकताको मूलधारमा नसमेटिएकाहरू लाई त्यसबाट राहत मिलेको थियो । कति धेरै दलित, मधेशी र जनजातिले बंशजको नागरिकता पाउनुपर्ने भए पनि अनेक थरी प्रमाण र सिफारिश जुटाउन नसकेर जन्मसिद्ध नागरिकता लिएको उदाहरण पनि छ । कमैया बसेका कति धेरै थारूहरूले कहिल्यै नागरिकता बनाएनन् । बनाउन पाएनन् । नागरिकता भन्ने कुनै कुरा हुन्छ भन्ने पनि तिनलाई थाहा भएन । तिनका सन्तानले बाबुको नागरिकता देखाएर बंशजको नागरिकता लिन पाएनन् । न लालपूर्जा, न स्थायी ठेगाना, न बाबुको नागरिकता, न पहुँच… यस्तै दशकौंसम्म शोषित पीड़ित बादी समुदायका कति धेरै युवायुवतीले नागरिकता लिन आँसु पिएर सङ्घर्ष गर्नुपर्यो । तिनले बुबा को हो भन्ने नै चिनाउन सकेनन् । नेपालका अनाथालयहरूमा हुर्केर निरन्तर यहीँ बसोबास र पढ़ेका हरूलाई पनि नागरिकता लिन सजिलो कानुन छैन । कतिलाई त शिक्षकहरूले करुणावश रिस्क लिएरै पनि आफ्नो सन्तान बनाएर नागरिकता दिलाएका छन् । देश त अलिकति तिनको पनि हो !

हालको विधेयकले बालबच्चाले बंशजको नागरिकता पाए पनि तिनको बुबाआमाले लिएको जन्मसिद्ध नागरिकतामा त्रुटि या गलत तथ्य भए सन्तानको नागरिकता समेत परिवर्तन गर्न सकिने कड़ा नियम राखेको छ । अङ्गीकृत नागरिकता दिने विषय नै नभएको विधेयकलाई बिहारीलाई नागरिकता दिन ल्याएको भनेर दुष्प्रचार गरिनु दुर्भाग्यपूर्ण छ ।

यहीँ नेपाली बाबुआमाबाट जन्मेहुर्केका र अन्यत्र कतैको नागरिकता नभएका नेपालीले संविधानमैं लेखिएको नागरिकता पाउन समेत बर्सौं कुर्नपर्नु, राजनैतिक हन्डर त थियो नै,अपमान पनि सहन पर्नु जायज होइन । विदेशबाट बिहे गरेर आउनेले सजिलै नागरिकता पाइरहने तर तिनैलाई देखाएर देशका नागरिकलाई नागरिकता दिने कानुन रोक्ने काम हुँदै आएको छ । नबुझेर विरोध गर्नु त एउटा कुरा, बुझी बुझी, बुझ पचाएर र आफ्नो सरकार या दलले ल्याउँदा समर्थन गरेर अर्को दलले ल्याउँदा त्यसमा राष्ट्रियता जोडेर विरोधकै लागि विरोध गर्नेहरु खासमा देशद्रोही हुन् ।

अघिल्लो संसदमा प्रसस्त छलफल भएर पास हुने तरखरमा रहेको विधेयक ओली सरकारले फिर्ता लिनु, दुई पल्ट संसदबाट पास भएर पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु गैरजिम्मेबार कार्य थियो । यो स्वार्थको तुच्छ राजनीति थियो । यो बर्सौंसम्म आफै पटकपटक रोकेर अन्तिममा हिजो किन गरिनस्, आज भ्रमणकै मुखमा किन गरिस् भन्नु आफैमा बदनीयत हो ।

रवि लामिछानेजीको ‘नागरिकता विधेयक’का विषयवस्तुमा कुनै विमति नरहेको स्पष्टीकरण सुनियो । प्रक्रियामा चित्त नबुझेर विरोध गरिएको उहाँको स्पष्टीकरण आयो । नागरिकस्तरमा विरोध देखिएपछि उहाँले संसदमा भएको स्तरहीन बहसमाथि समेत आत्मालोचना गरेर एउटा असल राजनीतिज्ञको छनक दिनुभयो ।
विधेयकमा भएको भन्दा पनि नभएको विषयमा आफ्नो चासो रहेको उहाँको स्पष्टीकरण थियो ।

वैवाहिक अङ्गीकृत नागरिकता नेपाली नागरिकका लागि होइन । त्यस्तो नागरिकता नपाएर या ढिलो पाएर कोही पनि अनागरिक बन्दैन । ती सँग कम्तिमा आफ्नै देशको नागरिकता हुन्छ । त्यो सात होइन, सत्र वर्षपछि दिए पनि ठूलो फ़रक पर्दैन । कानुन भए पनि त्यस्तो नागरिकता लिनेको सङ्ख्या अहिलेसम्म न्यून भएकाले त्यो हाम्रो मूल मुद्दा नबन्नुपर्ने हो । केही वर्ष रिभ्युका लागि रोके पनि हुन्छ । भाषा-संस्कृति र इतिहासजस्ता विषयमा परीक्षा लिएर दश वर्षपछि दिए पनि हुन्छ ।

तर जो यहीँ जन्मिएको हो, जसका आमाबुबा नेपाली हुन् र जससँग नेपाल बाहेक अन्यत्र जाने ठाउँ छैन, त्यस्तो नागरिकलाई अनेक थरी गलत व्याख्या र घटिया राजनीति गरेर एक दिन पनि नागरिकता रोक्नु अपराध हो ! लाखौं नेपाली युवाले कागज नभएकैले उच्च शिक्षा पढ्न नपाउँदा, रोजगारी नपाउँदा, विदेश गएर श्रम गर्छु नि त भन्दा पनि नपाउँदा, सिमकार्ड र ब्याङ्क एकाउन्टसम्म खोल्न नपाउँदा, बिहे भएर बिहे दर्ता गर्न नपाउँदा, महिलाले सम्पत्तिमाथि कुनै हक नपाउँदा पनि हाम्रो राष्ट्रियता दुख्दैन भने त्यो नक्कली हो !

वैवाहिक नागरिकतालाई बदल्न केही समय लाग्छ । सात या पाँच वर्ष भनेर मात्रै पुग्दैन । त्यतिन्जेल केही न कही परिचयपत्र त दिन पर्यो । शिक्षा, स्वास्थ्य र सम्पत्तिको हक़ दिन पर्यो । विदेशी नागरिकता राख्न दिन पर्यो । त्यस्तो परिचयपत्र दुरुपयोग नहोस् भनेर सुरक्षा संयन्त्र बनाउनुपर्यो । किनकि नागरिकता लिन त आफ्नो देशको नागरिकता त्यागेको सरकारी प्रमाण नै चाहिन्छ, परिचयपत्र त बिहे दर्ता गर्नेबित्तिकै सजिलै बन्ने भयो । परिचयपत्रको लागि छुट्टै कानुन र विनियमावली चाहियो । पूर्वाधार चाहियो । खर्च चाहियो । समय लाग्छ । त्यतिन्जेल बरु त्यस्तो नागरिकता नै नदिऊँ । केही समय पज गरौँ ।

तर त्यतिन्जेल आफ्नै देशका हकदार नागरिकलाई अनागरिक बनाइराख्ने काम नगरौं ! हरेक मुटुमा राष्ट्रवाद चाहिन्छ ! तर उग्रराष्ट्रवादले अन्ततः राष्ट्रलाई नै कमजोर बनाउँछ भन्ने हेक्का पनि चाहिन्छ !

IME
khanepani