
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन ।
बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताए। उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए ।
उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए । उनले साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको बताएका छन । उनले लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको बताए।
उनले निजी क्षेत्रका फाइलहरु सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए ।
उनले भने, ‘हामीलाई प्राप्त प्रकृतिले नै दिएका अथाह सम्भावनाहरुमा लगानीका लागि सरकारले लगानीकर्ताहरुलाई आग्रह गर्दछ । तर हामी लगानीकर्तासँग भने कतिपय तीता अनुभवहरु पनि छन् । निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन ।
हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभएपनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले त्यत्ति नै सताइरहेको छ । मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन धेरै समय लाग्यो । साना कुरामा पनि क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन । यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ । यो समग्र निजी क्षेत्रको समस्या हो । लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ ।’
रुपन्देहीलाई लुम्बिनी प्रदेशकै आर्थिक राजधानी बनाउने जनताको चाहनालाई लुम्बिनी केबलकारले पूरा गर्ने विश्वास रहेको बताए । चीन र भारतको जनसंख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउनसके पर्यटक खोज्न भौँतारिनु नपर्ने बताए ।
नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महशुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिने विश्वास व्यक्त गरे । बुटवल–पाल्पाको लुम्बिनी केबलकारले नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्ने बताए । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्