नेकपा एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गरे

काठमाडौं ।शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन्

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार गर्ने समझदारी भएको थियो । जस अनुसार १० वर्षमा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए ।

त्यस्तै नेपालको तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता पनि भएको थियो । उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भने, ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । …४८० मेगावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ?’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओलीले बताए ।

‘यस्ता यस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो पर्‍यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरु बन्नु भएको देशको दुर्भाग्य हो’ ओलीले भने ।

२७,जेष्ठ.२०८०,शनिबार १७:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्