सामाजिक सञ्जालमा दुई तस्बिर जोडेर ट्रोल, दौरा-सुरूवालमा प्लेन चढेको र अमेरिकी विमानस्थलमा सुट-टाईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन हिजो अमेरिकाको न्यूयोर्क पुगेका छन् । नेपालमा तामझामसहित बिदाइ भएका प्रधानमन्त्री अमेरिकामा स्वागत भने खल्लो भएको नेपालीहरुले बताएका छन ।

नेपालका सरकार प्रमुखलाई स्वागत गर्न अमेरिकाले कोही पनि प्रतिनिधि पठाएन । राष्ट्रसंघका लागि नेपालका आवासीय प्रतिनिधि लोकबहादुर थापाले जोन अफ केनेडी विमानस्थलमा नेपाली टोलीलाई रिसिभ गरेका थिए ।

प्रधानमन्त्रीको फेसबुक पेजमा नेपालबाट बिदाइ हुँदाका थुप्रै तस्बिर राखिएको छ, तर अमेरिकामा ओर्लिएका तस्बिर छैनन् । यद्यपि प्रधानमन्त्रीको सचिवालयले विमानस्थलका तस्बिर मिडियालाई उपलब्ध गराएको छ । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको स्वागत र बिदाइका दुई तस्बिर चर्चामा छन् ।

चर्चाको कारण हो, प्रधानमन्त्रीको फेरिएको पोशाक । त्रिभुवन विमानस्थलमा बिदाइ हुँदा प्रधानमन्त्री राष्ट्रिय पोशाक दौरासुरूवालमा ठाँटिएका थिए । तर अमेरिकी विमानस्थलबाट निस्किँदाको तस्बिरमा उनी सुट-टाईमा देखिएका छन् ।

प्रधानमन्त्रीको मात्र होइन, उनकी सुपुत्री गंगा दाहालको पनि पोशाक फेरिएको छ । उनी यहाँबाट बिदाइ हुँदा सारी(चोलोमा थिइन् । अमेरिका पुग्दा कोट(पाइन्टमा देखिइन् ।

प्रधानमन्त्री अमेरिका जाँदा कतारको दोहामा ट्रान्जिट थियो । दोहाको विमानस्थलमा नै बुबा-छोरीले पोशाक परिवर्तन गरेको बुझिएको छ ।

१,आश्विन.२०८०,सोमबार १०:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्