
काठमाडौं । कानून अध्यापन गराउन पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति पाएको काठमाडौको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमीलाई विश्वविद्यालयले कारबाही गरेको भेटिएको छ ।
एक वर्षमा एक सयजना विद्यार्थीलाई भर्ना गर्ने अनुमति पाएको चक्रवर्ती कलेजले तीन सय जनासम्म विद्यार्थी भर्ना गरी लाखौं रकम उठाएपछि पूर्वाञ्चल विश्वविद्यालयले यस वर्षको भर्ना प्रकृयालाई स्थगन गरिदिएको हो ।
कलेजका प्रिन्सिपल देवेन्द्रबहादुर भण्डारीले हरेक वर्ष एक सय जना विद्यार्थी पढाउने कोटा पाएपनि कोटाभन्दा माथि गई भर्ना लिने क्रम नरोकिएपछि कारबाही गरिएको विश्वविद्यालयले बताएको छ । साथै कलेजका सञ्चालक तथा क्याम्पस प्रमुखले विश्वविद्यालयको हित र पठनपाठनलाई निष्कलंक राख्न नसकेको भन्दै सचेतसमेत गराएको छ ।
विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरी यस वर्षको बीए एलएलबीको भर्ना प्रकृयामा विश्वविद्यालयबाट दिइएको कोटाभन्दा बढी भर्ना गरेका कारण चक्रवर्ती कलेजलाई कारबाही गरी रोकेको छ । विश्वविद्यालयका एक पदाधिकारीका अनुसार चक्रवर्ती कलेजका प्रमुख देवेन्द्रबहादुर भण्डारीले लाखौं रकम लिएर कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने अनि विश्वविद्यालयले प्रकृयामा प्रश्न उठाएपछि अदालतमा पुगेर अन्तरिम आदेश लिने गरेका छन् ।
विश्वविद्यालयका ती पदाधिकारीले भने, ‘विद्यार्थीको भविष्य अन्यौल हुने भएपछि अदालत पनि नरम बनिदिदो रहेछ । जसले गर्दा गुणस्तर दिन नसक्ने तर विद्यार्थीलाई लाखौं रकम असुल गर्ने गरेकाले कारबाही गर्नुपरेको हो ।’
कलेजले विद्यार्थी भर्नाबाहेक गुणस्तर र शैक्षिक पूर्वाधारमा ध्यान नदिएकाले कारबाही गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
चक्रवर्ती कलेजले लामो समयदेखि भर्ना प्रकृयामा अपरादर्शी बन्ने र हरेक वर्ष अनियन्त्रित शुल्क बढाएका कारण लामो समयदेखि विद्यार्थीहरू समेत आन्दोलित छन् । भर्ना हुने समयमा एक प्रकारको शुल्कमा विश्वास दिलाउने र हरेक वर्ष लाखमा शुल्क बढाउने प्रवृति बढेपछि विद्यार्थीहरुले आन्दोलन सुरू गरेका हुन । पाँच वर्षयता लाखमा शुल्क बढाउने गरेको आन्दोलनरत एक विद्यार्थीले बताए । यसको विरोध गर्दा कलेजबाट दिइने एसिस्मेन्टहरूमा कारबाही गर्छु भन्ने धम्की समेत दिने गरेको ती विद्यार्थीले बताएका छन ।
कलेजको वैधानिकतामै प्रश्न
हालसम्म क्याम्पस प्रमुख रहेका कलेजका सञ्चालक देवेन्द्रबहादुर भण्डारीका औपचारिक दुई श्रीमती छन् । तीमध्ये जेठी श्रीमती नरमाया भण्डारी र उनका एक छोरा र दुई छोरी छन् । लामो समयदेखि घरेलु हिंसा झेलिरहेको बताउने यो परिवारले आफ्नै बाविरुद्ध अंश मुद्दा लडेका थिए ।
आमा नरमाया भण्डारी, छोरा निरज भण्डारी, छोरीहरू अल्पना भण्डारी र श्वेता भण्डारीले आफ्नै बाबा देवेन्द्रबहादुर भण्डारीसँग सबै तहका अदालतहरुमा अंश मुद्दा जितेका छन् । सर्वोच्च अदालतले चल अचल सम्पत्तिमा आधा-आधा बनाउने फैसला गरेको थियो ।
जसअनुसार कलेजको आधार शेयर छोरा निरजका नाममा गइसकेको छ । तर, मुद्दा गरी ५० प्रतिशत शेयर पाएका छोरा निरजलाई कलेजमा छिर्न दिएका छैनन् ।
छोरा निरज भण्डारी भन्छन्, ‘मैले मुद्दा जितेपछि पनि कलेजमा गुण्डा प्रयोग गरी भित्र पस्न दिनुभएको छैन, कलेजको करोडौं रकम हिनामिना गर्नुभएको सूचना पाएका छौं, जसले हामी पाँच वर्षको डिउ डेलिजेन्स अडिट (डीडीए) को माग गरेबमोजिम अदालतबाट अन्तरिम आदेश लिएर आएका छौ’।
डीडीए प्रतिवेदनले कलेजमा कानूनविपरीत दिइएका छात्रवृत्ति, मान्यूटविना भएको खर्च, नियमविपरीत परिचालन भएको सम्पत्तिको लेखाजोखा गरी प्रतिवेदन तयार हुन्छ । उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बम र किरणकुमार पोखरेलको संयुक्त इजलासले यो प्रतिवेदन तयार गर्न रजिष्ट्रड चार्टर्ड अकाउण्टेन्टलाई नियुक्त गर्न समेत अन्तरिम आदेश दिएको छ ।
तर, विभिन्न बहाना र उच्च अदालतको फाँटलाई समेत प्रभावित पारी मुद्दाको सुनुवाइ लम्ब्याइरहेका छन् ।
विश्वविद्यालयको नियमविपरीत विभिन्न सुरक्षा निकायका व्यक्तिहरूलाई छात्रवृत्तिको व्यवस्था मिलाएर परिवारलाई अनावश्यक कारबाही गर्ने गरेको समेत परिवारले आरोप लगाएका छन् ।
मुद्दा जितेपछि छोरा निरज भण्डारीले भने, ‘मैले अदालतको आदेशबमोजिम अंश माग गर्दा प्रहरीलाई लगाएर झुठ्ठा मुद्दामा जेल समेत हालियो । प्रहरीले अनावश्यकरूपमा मलाई दु:ख दिए । अब केही दिनमा नै डीडीए सुरू भएपछि सो प्रतिवेदन सार्वजनिक गर्दा नै थाहा पाउनुहुनेछ को र कसलाई छात्रवृत्तिलाई हतियार बनाएर प्रयोग गरिएको रहेछ ।’
कलेजको खस्कदो साख
काठमाडौंको बिजुलीबजारमा रहेको यो कलेजको अस्तित्व भने संकटमा परिरहेको छ । काठमाडौं उपत्यकामै रहेका अन्य पूर्वाञ्चल विश्वविद्यालयको कलेजहरुले कानून संकायबाट उत्पादन भएका विद्यार्थीको वर्चश्व कायम भइरहँदा यो कलेजले भने आफ्नो अस्तित्व बचाउनै धौ धौ भएको छ ।
निजामती कर्मचारीहरूको सरुवाका कारण नियमित कलेज आउन नसक्ने अवस्थामा यो कलेजले हाजिरी मिलाईदिने भएकाले यसको कानूनको स्नातकोत्तर तहमा विद्यार्थी भर्ना भईरहेका छन । तर, अन्य विषयमा पूर्वाञ्चल विश्वविद्यालयमा यति धेरै विकृति भएको अर्को कलेज नभएको विद्यार्थी संगठनहरू नै बताउँछन् ।
आर्थिक रूपमा पैसा दिएपछि नाम निस्केर भर्ना प्रकृयामा रहेका विद्यार्थीलाई पढ्न नदिएको भन्दै विश्वविद्यालयमा उजुरीको चाङ रहेको पूर्वाञ्चल विश्वविद्यालय स्रोतले जानकारी दिएको छ । कलेजमा अवैधानिक व्यक्तिहरुले लाखौं दुरुपयोग गरेको पाइएकाले डीडीए रिपोर्ट तयार गरी सार्वजनिक गर्नुपर्ने अवस्थामा पुगेको नयाँ सञ्चालक निरज भण्डारीले बताए ।
(हेर्नुस् चक्रवर्तीको सम्बन्धन स्थगनको सूचना तथा पूर्वाञ्चल विश्वविद्यालयको पत्र)
प्रतिक्रिया दिनुहोस्