
काठमाडौ । काठमाडौ काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले बुधबार एउटा सूचना जारी गर्यो।
नयाँ प्रशासनिक भवनबाट सेवा सुरू भएको र कार्यालयमा सामान ओसार्दा कर्मचारीहरू थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिएको सूचित गर्यो।
त्यस सूचनाबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको छ।
कतिपयले ‘थकाइ बिदा’ दिनु नगरपालिकाको काम, कर्तव्य अधिकारको दुरूपयोग समेतको रूपमा अर्थ्याएका छन्।
नगरप्रमुख टोकबहादुर वाइवाले थकाइ बिदा नभइ व्यवस्थापनका लागि बिदा दिनु परेको बताए।
‘संविधान दिवसको अवसर पारेर हामीलेन नगरपालिकाको नयाँ कार्यालयबाट सेवा सुरू गरेका छौं। पुरानो कार्यालय तीन किलोमिटर पर थियो,’ नगरप्रमुख वाइवाले भने, ‘तीन दिन लगाएर सामान सार्दा व्यवस्थापन गर्न भ्याइएको छैन। त्यसैले बिदा दिएको हो।’
सामान व्यवस्थापनका अतिरिक्त प्राविधिक कुराहरू पनि मिलाउनुपर्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइको उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिए।
‘भुलवश थकाइ बिदा हुन गएको हो। हामीले सट्टा बिदा दिएका हौं। सारिएका सामानहरू मिलाउनै बाँकी रहेकाले पनि सेवा दिन असहज भयो,’ उपप्रमुख नेपालले भने।
मण्डनदेउपुर नगरपालिकाले १६ करोडको लागतमा नयाँ प्रशासनिक भवन बनाएको हो।
प्रतिक्रिया दिनुहोस्