शिक्षकहरू आन्दोलनमा जाने भएपछि भक्तपुरको चाँगुनारायण विद्यालय अनिश्चितकालसम्म बन्द

काठमाडौ । काठमाडौ शिक्षकहरूको जारी आन्दोलनका कारण भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ।

शिक्षकहरू आन्दोलनमा सहभागी हुनुपर्ने भएकाले विद्यालयको पठनपाठन अनिश्चितकालसम्म बन्द गर्नुपरेको प्रधानाध्यापक बाबुराम ढकालले बताएका छन्।

‘नेपाल सरकारले २०८० भदौ २७ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गरेको छ। यो विधेयकको मस्यौदा नेपाली आम शिक्षक र विद्यालय कर्मचारीको हितविपरीत रहेको नेपाल शिक्षक महासंघ केन्द्रीय समिति र नेपाल शिक्षक महासंघ भक्तपुरको ठम्याइ छ,’ विद्यालयले निकालेको सूचनामा भनिएको छ, ‘नेपाली शिक्षकहरूले पेश गरेको ३० बुँदे र ५१ बुँदे माग पूरा गर्नको लागि नेपाल शिक्षक महासंघ केन्द्रीय समिति र नेपाल शिक्षक महासंघ भक्तपुर जिल्ला समितिको मिति २०८० भदौ ३१ गतेको बैठकले असोज ३ गतेबाट शिक्षक तथा कर्मचारीहरूको आन्दोलनको कार्यक्रम तयार गरेको ह्ुँदा उक्त आन्दोलनमा शिक्षक–कर्मचारी सहभागी हुन असोज ४ गतेबाट अर्को सूचना प्राप्त नभएसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ।’

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरूद्ध शिक्षकहरूले बुधबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए। बिहीबार माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ।

शिक्षकहरू आन्दोलनमा उत्रिएपछि काठमाडौंका सार्वजनिक विद्यालयहरू पनि बन्द हुन पुगेका छन्।

यसैबीच बिहीबार बिहान गृहमन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरूको संघसंगठनका प्रतिनिधिबीच वार्ता भएको थियो।

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए।

मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले जानकारी दिए।

छलफल सकारात्मक भएपनि आन्दोलन रोक्नेबारेमा निष्कर्ष ननिस्किएको उनले बताए। ‘अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ,’ उनले भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा आफूले काठमाडौंको शान्ति सुरक्षाबारे कुरा गरेको बताए।

‘आन्दोलनलाई शान्तिपूर्ण बनाउन, निषेधित क्षेत्र नतोड्न, सवारी आवागमन अवरोध नगर्न लगायतका विषयमा छलफल भयो,’ उनले भने।

एजेन्डाहरूको विषयमा थप छलफल गर्नेगरी आजको बैठक टुंगिएको प्रजिअ बस्नेतले जानकारी दिए।

४,आश्विन.२०८०,बिहीबार १०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्