बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

रुपन्देही । बाँकेको बाल सुधार गृहमा भएको झडपपछि भागेका २५४ बालबन्दीहरु मध्ये २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसबाकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए । झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियारसहितको प्रहरी तैनाथी नरहने प्रहरीले जनाएको छ । सुधार गृह संचालन गर्ने संस्थाको ब्यवस्थापनमा सीमित सिभिलमा प्रहरी मात्र खटिने गरेको प्रहरीको भनाइ छ ।

गतवर्षको माघ २६ गते पनि बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको थियो । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

सुधारगृमा राखिएका लागूऔषध सेवनको कुलतमा फसेका र लागूऔषध सेवन नगर्ने किशोरहरुबीच विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताइएको छ ।

५,आश्विन.२०८०,शुक्रबार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्