कांग्रेस बैठकमा जर्जर अर्थतन्त्रको चिन्ता, सरकारलाई गभर्नरले सहयोग नगरेको प्रसंग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सरकारमा भए पनि जनताले कांग्रेस सत्तामा रहेको आभास गर्न नसकेको गुनासो गरेका छन् ।

आम नागरिकका समस्या चुलिएको, अर्थतन्त्र जर्जर रहेको, बैंकको ऋणले व्यवसायी संकटमा पुगेको, यूवाहरु विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे ।

संघमा अर्थमन्त्री कांग्रेसकै भए पनि जनताले राहतको महशुस गर्न नपाएको केन्द्रीय सदस्यहरुले टिप्पणी गरे । केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अर्थतन्त्र सहज अवस्थामा नभएको बताए । उनले चाडवाडको नजिक आर्थिक राहत वितरणको प्याकेज ल्याउनुपर्नेसुझाव सरकारलाई दिए ।

कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री रहेकाले जनताले राहतको अपेक्षा गर्नु स्वभाविक भएको उनले बैठकमा बताए । ‘आँगनमा चाडपर्व आएको छ । हाम्रो अर्थमन्त्री हुनुहुन्छ । सरकारले उतिबेला उचित नीति अबलम्बन गर्नुपर्दछ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘दशैं अगाडि नै आर्थिक प्याकेज कार्यक्रम सरकारले ल्याओस् ।’

अहिलेको आर्थिक संकटमा गभर्नर महाप्रसाद अधिकारी असहयोग गरेको उनको आरोप थियो । पूर्व सरकारलाई असहयोग गरेका गभर्नरले अहिले पनि सहयोग नगरेको उनले बताए ।

केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले वर्तमान अर्थतन्त्रलाई ‘बिरामी आन्तरिक अर्थतन्त्र’ को संज्ञा दिए । रेमिट्यान्सले अर्थतन्त्रको बाह्य पक्ष राम्रो भएपनि आन्तरिक रुपमा आर्थिक गतिविधि निराशाजनक रहेको उनले बताए ।

‘बैंकमा ५ खर्ब थन्किएको छ । सरकार र राष्ट्र बैकले नीतिगत बिकल्प दिएको छैन,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले भने, ‘ठूला ऋणीको लागि मात्र छलफल हुने तल्लो गरिखाने वर्गको मुद्दामा आवश्यक बहस र पहल भएन ।’
६०–७० प्रतिशत रोजगारी प्रदान गर्ने साना तथा मझौला उद्योग व्यवसाय संकटग्रस्त रहेको उनले सुनाए ।

जनताले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरिरहेको केन्द्रीय सदस्य डिला संग्रौला बताउँछिन् । कोभिड १९ पछि थिलथिलो भएको अर्थतन्त्र माथि उठ्न नसकेको संग्रौलाको निचोड छ । ‘हाम्रै पार्टीका अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले अझ बढी संकटलाई पार लगाउने दायित्व कांग्रेसको छ,’ संग्रौलाले बैठकमा भनिन्, ‘त्यसका लागि पार्टीले सरकारले गर्नुपर्छ, मन्त्रीहरुले के काम गर्नुपर्छ त्यसको प्रष्ट खाका बनाउन जरुरी भइसकेको छ ।’

अर्का केन्द्रीय सदस्य गुरु बरालले बैंकको ऋणले नागरिकलाई दूरावस्थामा पुर्‍याएको बताए । व्यवसायबाट पलायन हुने तथा आत्महत्याको बाटो रोजिएको भन्दै अर्थतन्त्र उकास्नलाई ठोस पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।

बरालले तत्काल राहत प्याकेज ल्याएर निराशा रहेको वर्गलाई आशा सञ्चार गराउन आग्रह गरे ।

५,आश्विन.२०८०,शुक्रबार १९:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्