इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको भन्दै कांग्रेसका ८ सांसदले दिए प्रदेश प्रमुखलाई निवेदन
वि.सं.२०८० असोज २६ शुक्रवार १३:१५
shares

काठमाडौ । काठमाडौ कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ सांसदले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको तर्फबाट कोशीको मुख्यमन्त्रीमा दाबी गर्दा आफूहरूको हस्ताक्षर दुरूपयोग गरेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन्।
यी ८ जना सांसदहरूले कोशीको मुख्यमन्त्री आङ्बोलाई बनाउने पार्टी केन्द्रको निर्णयलाई चुनौती दिएका छन्। उनीहरूमध्ये केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कार्कीलाई नेकपा (एमाले) का ३९ जना सांसदले समर्थन गरेका छन्।
एमालेका ३९ र कांग्रेसका ८ सांसद गरी ४७ जनाको हस्ताक्षर कार्कीले प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए।
सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोले पनि आफ्नो दाबीमा कांग्रेसका ती ८ जना सांसदको हस्ताक्षर समावेश गरेका छन्।
‘हामीले यो कुरा हिजै प्रदेश प्रमुखसमक्ष सशरीर उपस्थित भएर पनि भनेका छौं। हस्ताक्षर दुरूपयोग गरियो भनेर निवेदन पनि दिएका छौं,’ कांग्रेस सांसद शमशेर राईले भने,‘प्रदेश प्रमुखले हाम्रो निवेदन बुझ्नुभएको छ। केही भन्नुभएको छैन।’
निवेदन दिनेमा कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरूङ छन्।






















