५ लिटर पेट्रोल भर्दा २० मिलिलिटरसम्म कम,दिनमै १३ हजार भन्दाबढी तेल उपभोक्तालाई नदिई असुली
वि.सं.२०८० कात्तिक १ बुधवार २०:२३
shares

काठमाडौं । काठमाडौं गैरीगाउँको भ्याली बाबा सप्लायर्स पेट्रोल पम्पमा मंगलबार प्रधानमन्त्री कार्यालयले छड्के गर्दा परिमाण घटाएर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइयो ।
पटक पटक गुनासो आए पनि नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभागले अटेर गरिरहेका थिए । तर, मंगलबार ती कार्यालयका अधिकारीसहित प्रधानमन्त्री कार्यालय र सर्तकता केन्द्रका अधिकारी पम्पमा पुगेका थिए ।
पम्पमा पेट्रोल भर्ने एउटा नोजलबाट सुरुमा नाप तौलका अधिकारीहरुले ५ लिटर पेट्रोल भरे । पहिलो पटकमा केही मात्रामा पेट्रोल कम देखियो, दोस्रो पटक पुनः ५ लिटर तेल भरियो त्यसमा पनि तेल कम आयो । तेस्रो पटक भर्दा पनि पेट्रोल तोकिएको मात्रामा आएन ।
अनुगमनमा खटिएका गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंमा अधिकृत निराजन पुडासैनीका अनुसार पम्पले बिक्री गर्ने प्रत्येक लिटर पेट्रोलमा मापदण्डमा तोकिएको भन्दा कम्तीमा ४ एमएलका दरले कम दिने गरेको भेटियो ।
‘अनुगमन टोलीले ५ लिटर पेट्रोल ३ पटक आफूले नापतौल गर्ने भाँडोमा खन्याउँदा २० एमएल कम तेल देखियो’, पुडासैनीले भने, ‘प्रत्येक लिटरमा ४ एमएल कम तेल उपभोक्तालाई बिक्री गरिरहेको अनुगमनमा पाइयो ।’
हरेक दिन कम्तीमा २० हजार लिटर पट्रोल बिक्री गर्दा पप्पबाट ८० लिटर पेट्रोल कम हुने देखिएको अनुगमनमा संलग्न अधिकारीहरुले बताएका छन् । काठमाडौंकै पम्पमा कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि बुधबार संयुक्त अनुगमन टोलीले थप २ वटा पप्पमा पनि यस्तै प्रकृतिको अनुगमन गर्यो ।
सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वाम्भूको हलचोक फ्यूल सेन्टर र कलंकीको श्यामा पेट्रोल पम्पमा गरेको अनुगमनमा पनि यस्तै तरिकाबाट डिजेलमा उपभोक्ता ठगी गरेको देखियो ।
लामो समयदेखि अनुगमन नभएका काठमाडौंका पम्पहरुमा केन्द्रीय अनुगमन कार्यालयबाट अनुगमन भएसंगै पम्पहरुको ठगीधन्दा खुलेको हो ।
पम्पमा रहेको ४ वटा नोजल (पेट्रोल भर्ने मेसिनसहितको वस्तु) मध्ये मंगलबार अनुगमन टोलीलले सिल गरेको नोजल ३ वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ । नेपाल आयल निगमका अनुसार काठमाडौंको व्यस्त ठाउँमा रहेको उक्त पम्पले प्रत्येक दिन औसत २० हजार लिटर हाराहारीमा पेट्रोल बिक्री गरिरहेको थियो ।
यही अनुपातको बिक्री हेर्दा उपभोक्ताले परिमाणमा ४ एमलएका दरले तेल कम प्राप्त गरेको र सो बापत भने पम्पले ठूलो लाभ आर्जन गरेको अनुगमन टोलीको अनुमान छ ।
‘२० हजार लिटर बिक्री गर्दा ८० लिटर पेट्रोल बिक्री नगरी उपभोक्ताबाट पैसा असुल गरिनेरहेछ’, ती अधिकारीले भने, ‘८० लिटर पेट्रोलको रकम १३ हजार ७६० रुपैयाँ हुन्छ ।’
अनुगमनमा खटिएका अधिकारीहरुका अनुसार यदि यो नोजलले जडान गरेको अवधिदेखि नै कम मात्रामा पेट्रोल दिइरहेको हो भने पम्पले लाखौं रुपैयाँ उपभोक्ताबाट असुल गरेको हुनसक्छ ।






















