देउडा संस्कृतिको संरक्षणका लागि हुम्लामा देउडा प्रतियोगिताको शुरुवात(भिडियो सहित)
वि.सं.२०८० कात्तिक ४ शनिवार १८:१४
shares

कार्तिक ४, काठमाडौं । देउडा संस्कृतिको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा प्रतियोगिता शुरुवात गरेको छ ।
गत वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिता शुरु गरिएको हो । देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरुले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको शुभारम्भ गरेका हुन् । यही वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीहरु भेला हुने गर्दछन् । पश्चिमेली संस्कृतिको दबाबमा नेपाली संस्कृति लोप हुँदै गएपछि आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरु एकजुट भएका हुन् । देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरु गाइने गरिन्छ ।
सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर वाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएकाले आफुहरुले युवाहरुको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निर्णय गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायले बताए । अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य जोडिसकेको बताए ।
उनले भने, ‘देशकै संस्कृतिको जगेर्ना गर्नुपर्छ । किनभने पश्चिमेली संस्कृतिले नेपाली संस्कृतिलाई आक्रमण गरिरहेको बेला र अहिलेको पुस्ता पुरानो पुस्तासँग नजोडिएकाले संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणमा हामी लागेका छौँ । विश्वभरमा हाम्रो यो संस्कृति अनौठो छ । हाम्रो भिन्न संस्कृति र भेषभुषा छ । हाम्र्रो अनौठो संस्कृतिलाई विश्वव्यापीकरण गर्नुपर्छ । लोपोन्मुख संस्कृतिलाई जगेर्ना गरेर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामीले २०८० साल वैशाख १ गतेबाट हरेक महिनाको १ र १५ गते देउडा प्रतियोगिता शुरु गरेका छौँ । अहिलेसम्म देउडा संस्कृति संरक्षण मञ्चमा ९४ जना सदस्य आवद्ध हुनुहुन्छ । कर्णाली प्रदेशमा समेत देउडा प्रतिष्ठान गठन भएको छ । हाम्रो देउडा संस्कृतिसँग किन नयाँ पुस्ता जोडिन सकेको छैन ? यही विषयमा खोज भइरहेको छ । हाम्रो नयाँ पुस्ता पश्चिमेली संस्कृतिमा बढी ढल्किएको छ ।’
संस्कृतिको संरक्षका लागि कर्णाली प्रदेशमा देउडा प्रतिष्ठान गठन भएको छ ।






















