जमलेश्वर महादेवमा पूजा गरी फूलपाती हनुमान ढोका पठाइयो (भिडियो सहित)
वि.सं.२०८० कात्तिक ४ शनिवार १८:४४
shares

कार्तिक ४,काठमाडौं । काठमाडौंको जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका लगिएको छ ।
शनिवार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती पठाइएको हो । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
सोही परम्पराअनुसार जमलमा फूलापाती भित्र्याएर हनुमान ढोका दरबारस्थित दशैँ घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइन्छ । नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मुलचोकमा तान्त्रिक विधिबाट बलि दिइ हुनमानध्वाखाको दशैँघरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोर्खा दरबारबाट हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याउने चलन शुरु गर्नुभएको थियो । यो परम्परालाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मौलो पूजाका लागि हनुमानध्वाखाबाट फूलपाती लैजाने गर्दछन् ।
























