गाजा द्वन्द्व जारी रहे इजरायलसँग बिस्तारित भिडन्त हुन्छः हिजबुल्लाह नेता (भिडियो सहित)

एजेन्सी । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सीमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् ।
हप्ताअघि इजरायल–हमास द्वन्द्व र इजरायल–हेजबुल्लाह टकराव शुरु भएपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा नसरल्लाहले कुनैपनि समयमा बिस्तारित युद्ध शुरु हुने चेतावनी दिएका हुन । उनले लेबनानमा आक्रमण गर्ने वा लेबनानमा सक्रिय अपरेशन गर्ने सोचे इतिहासकै सबैभन्दा ठूलो मुर्खता हुने बताए ।

नसरल्लाहले अमेरिकी हवाई आक्रमणको धम्कीले प्रतिरोधको दृढ संकल्प वा स्थितिलाई कहिल्यै असर नगरेको बताउनु भयो । संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै उनले अमेरिकालाई जवाफ दिन तयार रहेको बताए ।

नसरल्लाहले इजरायलसँगको हिजबुल्लाहको मुठभेडले गाजामा आक्रमण गर्ने उद्देश्यले इजरायली सेनाको महत्वपूर्ण भागलाई प्रभावकारी रूपमा मोडेको बताए । लगभग एक तिहाइ इजरायली सेनाहरू लेबनानसँगको सीमामा पुगेको बताए। हिज्बुल्लाहका केही समर्थकहरूले आफू नसरल्लाहसँग अडिग रहेको सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्रीमा बताइएको छ ।

उनले इजरायलदेखि आफू नडराउने बताए । उनले इजरायल र अमेरिकासँग आइपरे जस्तोसुकै युद्धका लागि आफूहरु तयार रहेको बताए ।

उनले आफूहरु प्रतिरोधको सिद्धान्तमा जन्मिएको र हुर्किएको भन्दै इजरायल विरुद्ध र प्रतिरोधको बाटो जारी राख्ने बताए ।

२०,कार्तिक.२०८०,सोमबार १५:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्