भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण
वि.सं.२०८० कात्तिक २० सोमवार १७:०५
shares

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।
रास्वपा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई सोमबार सिंहदरबारमा भेटेर भिआइपीको भ्रमणले उद्धार र राहत कार्यमा असर परेको बताएका हुन्।
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सबैभन्दा पहिला पुगेका थिए।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, उपप्रधान तथा गृह मन्त्री, स्वास्थ्य मन्त्री, ऊर्जा मन्त्री लगायतको टोली पनि भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए।
‘हामीले स्थानीय तहहरुलाई नै काम गर्न दिनुपर्ने भनेका छौँ’, भेटमा सहभागी एक सांसदले भनिन्, ‘मन्त्रीहरु लाइन लागेर गएपछि उद्धार राहत कार्य प्रभावित भएको कुरा राखेका छौँ।’
रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण योजनाबारे समेत प्रश्न गरेका थिए।
‘हामीले विगतमा जस्तै पुनर्निर्माण प्राधिकरण बनाउने हो भनेर प्रश्न गरेका थियौँ’, ती सांसदले भनिन्, ‘उहाँले कुनै ठोस जवाफ दिनुभएन।’
रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणमा ‘उद्धार र राहतमा ढिलासुस्ती नगर्न’ आग्रह गरिएको छ।
त्यस्तै पुनर्निर्माणका लागि कानुनी प्रबन्ध मिलाउन आग्रह गरिएको छ।
पार्टीका उपसभापतिसमेत रहेका सांसद डोलप्रसाद अर्यालसहित सांसदहरू सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा लगायतले प्रधानमन्त्रीलाई भेटेका हुन्।

























