गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्ः रास्वपा उपसभापति अर्याल(भिडियो सहित)
वि.सं.२०८० कात्तिक २० सोमवार १९:४८
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन ।
रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उनको गुनासो थियो । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन पनि सरकारलाई सचेत गराए । उनले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए ।
उपसभापति अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भुकम्प गयो । सिडियो साहेवहरु चाहीँ संघीय माननीय र मन्त्रीहरु, अनि प्रदेशमा माननीय र मन्त्रीहरु स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा चाँही त्यसले पनि देखायो । मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाई दिनुस् स्वागत गर्नका लागि । त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ । तर सिडियोहरुलाई चाहीँ काम गर्न लगाउनुस भन्न गएको । तर उहाँले भेटन समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?’

























