काठमाडौं महानगरले सडकमा बेवारिस छाडिएका चौपाया व्यवस्थापन गर्ने
वि.सं.२०८० कात्तिक २२ बुधवार १०:०३
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा रहेका गाईबाच्छाहरुलाई कोपुगाउँमा रहेको ‘काञ्जी हाउस’मा राख्ने भएको छ ।
महानगरका मेयर बालेन शाहले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा वडा नम्बर ७ कोपुगाउँमा रहेको सो हाउसमा राख्ने तयारी भएको बताए ।
सडकमा छाडिएको चौपायाले खान नपाएको र तिर्खा लागेको बेला पानी समेत नपाउने समस्या रहेकाले अभियान थालिएको उनले बताए । काञ्जी हाउसमा हुँदा उनीहरूको उपचारमा पनि सहजता आउने उनको विश्वास छ ।
सडक चौपायाहरूको व्यवस्थापनले सडक दुर्घटना समेत घटाउने भएकाले महानगरको यो अभियानलाई सकारात्मक रूपमा लिइएको छ ।
काञ्जी हाउसमा लगिएको चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज पनि खरिद गरिसकिएको उनले बताएका छन् ।
हेरचाहका लागि २ जना स्थानीयलाई महानगरले ज्यालादारीमा काममा लगाएको छ । दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को सहकार्यमा पानी, बिजुली लगायतका सुविधा पनि प्रदान गरिने उनले बताए ।






















