सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्चिने सरकारको निर्णय
वि.सं.२०८० कात्तिक २७ सोमवार १३:५७
shares

काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्चिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड गरेर १० अर्बको भूकम्प पीडित राहत कोषमा बनाउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड छुट्याइएको थियो ।
यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
त्यही रकम भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा खर्चिने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनले अघि भने, ‘भूकम्प प्रभावितहरुको पुनस्र्थापना र पुनमिर्ाणका लागि कोषमा सहयोग गर्न अन्तराष्ट्रिय समुदाय र संघ संस्थालाई अपील गरेका छौं ।’
मन्त्रिपरिषद्को बैठकले पूर्ण क्षति भएका र आशिक क्षति भई बस्न योग्य नरहेको घर भएको परिवारलाई अस्थायी आवास बनाउन ५० हजार दिने निर्णय समेत गरेको छ ।
आवास बिमाबारे अध्यनन गर्ने जिम्मा मुख्य सचिवलाई दिएको छ ।
























