काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्ने बताइएको छ ।
अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले निर्देशन गर्ने यो चलचित्रमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिने निर्माण पक्षले जनाएको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ ।
चलचित्रमा अमेरिका, म्यानमार, भुटान र इन्डिया गरी चार देशका चार जना नेपाली भाषी अभियन्ता, नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्त्व, नेपाली वीरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुटान, म्यानमार, इन्डियासम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भन्ने कथा चलचित्रमा हुने बताइएको छ । फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए ।
चलचित्रको छायाङ्कन मंसिर ६ गतेबाट सुरु हुँदैछ । छायाङ्कन पाँचथरबाट सुरु गरी झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतका देशहरूमा हुनेछ ।
फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्त आदिको अभिनय रहनेछ ।
दीपक शर्माको संगीत ,सौरव लामाको छायाङ्कन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।
प्रतिक्रिया दिनुहोस्