
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकसित राष्ट्रहरु अझैपनि पीडित देशहरुलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताए ।
उनले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने बताए ।
उनले भने,‘विकसित राष्ट्रहरु अझैपनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् की यो वातावरणीय परिवर्तनका महासन्धी, सन्धीहरुमा हस्ताक्षर गर्नका लागि उनीहरुलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फण्डमा यति पैसा राख्छौँ, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फण्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाईंको नेतृत्व हामीले गर्नुपर्छ । अब हुने कोप २८ मा यो लडाईं र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ । जलवायु परिवर्तनको नाममा हामी कहाँ पनि धेरै खर्चहरु भएको म देख्छु । तर त्यो खर्च अब कतापटि लैजाने ? त्यसबारेमा पनि सोच्नुपर्छ । सफ्टवेयरमा धेरै खर्च गरेका छौँ, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।’
मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्