काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि रोक्न आदिवासी जनजातिको माग

4.59K
shares
khanepani bord

काठमाडौं । नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आह्वान गर्दै यसका विरुद्ध भइरहेका अवान्छित गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् ।

नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै उनीहरूले संघर्षपूर्ण उपलब्धिको रक्षाका निम्ति समयमा सचेतपूर्ण ढंगले लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोल्न नपाइने भन्दै रगतको बलिदानी दिएर ल्याएको परिवर्तन भत्काउने कार्यका विरुद्ध आदिवासी जनजाति सम्बद्ध न्यायप्रेमी शक्तिहरू एकजुट भएको बताए ।

संयुक्त रुपमा जारी विज्ञप्ति वाचन गर्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात(थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा र तामाङ घेदुङ र नेवा देय दबूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने जानकारी दिए ।

त्यस अवसरमा बोल्दै किरात याक्थुम चुम्लुङका प्रेम एक्तेन, तामाङ घेदुङका अध्यक्ष मोहन गोले र नेवा देय दवूका उपाध्यक्ष उमेश स्थापितले नेपाली जनताको संघर्षपूर्ण इतिहासबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति आदिवासी जनजाति समुदाय एक भएको भन्दै यो उपलब्धि भत्काउन गरिने जुनसुकै गतिविधिको सामूहिक तथा सशक्त रुपमा प्रतिकार गरिने समेत बताए ।

प्रतिगमनकारी शक्तिहरूले जनताको बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूका विरुद्ध तथाकथित हिन्दु राष्ट्रका नाममा भत्काउने प्रयास भइरहेको भन्दै त्यसको रक्षाका निम्ति सबै सचेत हुनुपर्ने नेपाल आदिवासी जनजाति महासंघ दिवश राईले बताए । उनले यो अभियानमा देशभक्त सबै पक्षहरू एकजुट हुन समेत आग्रह गरे ।

‘२०६२र६३ को ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश विद्रोह, आदिवासी जनजाति, महिला, दलित, खस आर्य तथा मुस्लिम समुदायले सञ्चालन गरेको थुप्रै बलिदानी पूर्ण संयुक्त सङ्घर्ष र लगभग ७ दशक लामो आन्दोलनपछि जारी नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएको धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता र समावेशी लोकतान्त्रिक व्यवस्थाविरुद्ध पछिल्लो पटक देशी, विदेशी प्रतिक्रियावादी शक्तिसँगको मिलोमतोमा विभिन्न व्यक्ति र समूहको नामबाट सञ्चालित प्रतिगामी कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकमा बढेको भ्रष्टाचार, बेथितिलाई नियन्त्रण गर्न जरुरी रहेको भन्दै विज्ञप्तिमा तर यसैको आडमा देशी, विदेशी प्रतिक्रियावादी तथा केही धार्मिक अतिवादी समूहहरूद्वारा जनताको बलिदानी पूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई खारेज गर्नेगरी देशव्यापी रुपमा सञ्चालित प्रतिगामी हर्कत तथा उत्तेजक अभिव्यक्ति दिने कार्य सह्य हुन नसक्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपालको प्रचलित कानुन र संविधान विपरीत हुने अवान्छित गतिविधि रोक्न समेत आग्रह गरिएको छ ।

यसैगरी स्थानीय समुदायसँग सहमति नलिई काठमाडौं जिल्ला शंकरापुर नपा वडा नं। ३ स्थिति बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृङ्खलाबद्ध रुपमा गरिरहेको अनावश्यक बल प्रयोग, दमन, धरपकड र गिरफ्तारी जस्ता अमानवीय कार्य तत्काल रोकी वार्ता र संवादको माध्यमबाट उचित निकास खोज्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

IME
khanepani