दौरासुरुवाल लगाएर हिँडिरहेका वृद्धलाई जब प्रहरीले च्यापचुप समातेर भ्यानमा कोचे

काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनलाई नियन्त्रण गर्ने बहानामा प्रहरीले आज तीनकुनेमा सर्वसधारणहरुलाई आतंकित बनाएको छ । चिया खाँदै गरेकादेखि आफ्नो कामले बाटो हिँडिरहेकाहरु समेत प्रहरीको धरपकडमा परेका थिए ।

सामाजिक सञ्जालमा एक वृद्धको तस्वीर भाइरल भइरहेको छ, जसलाई विनाकारण प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका वृद्ध हुन् ८३ वर्षिय खड्गप्रसाद शिवाकोटी ।

दौरा सुरुवाल र टोपली लगाएका शिवकोटी आफू आन्दोलनमा नआएको बताउँदै थिए, तर प्रहरीले च्यापचुप समातेर भ्यानमा कोचिहाल्यो । भ्यानभित्र उनीजस्तै असम्बन्धित व्यक्तिहरु अरु पनि थिए ।

‘म आफ्नै कामले हिँडेको हुँ, आन्दोलन छ भनेर बाटो हिँड्न पनि नपाइने हो ?’ शिवाकोटी भन्दै थिए ।

उनको पक्राउप्रति सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्टाटस लेख्दै प्रहरीको कडा आलोचना गरेका छन् । दौरासुरुवाल र कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजीलाई समेत किन हिरासतमा नलिने भन्दै उनले प्रश्न गरेका छन् ।

उनको स्टाटस यस्तो छः

दौरासुरुवाल कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने बेला बेलामा दौरा सुरुवालमा देखिने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठजी तपाईहरुलाई किन हिरासतमा नलिनेरु होइन भने दौरासुरुवाल कोट लगाएर बाटोमा हिडेकै भरमा पक्राउ गरिएका ८३ बर्षीय खड्ग प्रसाद शिवाकोटीलाई तत्काल ससम्मान रिहाई गर। नागरिकलाई ‘सिष्टम’ प्रतिको थोरै बाँकी बचेको विश्वास गुम्न नदेऊ ।

८,मंसिर.२०८०,शुक्रबार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्