एमाले सचिव योगेश भट्टराईको घरअगाडि पहिचानवादीहरूको प्रदर्शन
वि.सं.२०८० मंसिर १० आइतवार १३:५२
shares

काठमाडौ । काठमाडौ नेकपा (एमाले) का सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन्।
आइतबार बिहान पहिचानवादीहरूले कालो झण्डासहित सदरमुकाम फुङलिङ बजारमा प्रदर्शन गरेका हुन्।
दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ। सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई गृह जिल्ला पुगेका थिए।
कार्यक्रमका लागि कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो पनि पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन्।
‘आज बिहान उहाँ (भट्टराई) को घरअगाडि र अहिले पार्टी कार्यालयअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन्,’ उनले भने।
कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन्। उनीहरूले कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिने गरेका छन्।




















