विपिन जोशी अर्को चरणमा छुट्ने नेपालको आशा, कतारमार्फत प्रयास
वि.सं.२०८० मंसिर ११ सोमवार ०८:५१
shares

काठमाडौ । काठमाडौ इसराइलले गजामा युद्धविराम गरेयता प्यालेस्टाइनको अतिवादी समूह हमासले ५४ बन्धकलाई मुक्त गरेको छ।
सिएनएनका अनुसार आइतबार हमासले थप १३ बन्धकलाई छोडेको छ।
त्यसअघि शनिबार १७ जना र शुक्रबार २४ बन्धकलाई उसले रेडक्रसको जिम्मा लगाएको थियो।
अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गजाबाट लगिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गराई आफन्तहरूसँग भेट गराइएको छ।
हमासले बन्धक मुक्त गरेको बदलामा इसराइलले प्रत्येक दिन ३९ जना प्यालेस्टिनियन नागरिकहरूलाई कैदमुक्त गरेको छ।
अक्टोबर ७ यता इसराइली डिफेन्स फोर्सले तीन हजारभन्दा बढी प्यालेस्टिनियन नागरिकहरूलाई पक्राउ गरी जेलमा राखेको थियो।
उनीहरूमाथि इसराइली सैनिकमाथि आक्रमण र ज्यान मार्ने कोशिस गरेको आरोप लगाइएको छ। इसराइली जेलहरूमा रहेकाहरू अधिकांश महिला र किशोरकिशोरी छन्।
इसराइलले बन्धकमुक्त गर्न भन्दै गजामा कम्तिमा चार दिन युद्धविराम गर्ने सहमतिलाई गत मंगलबार अनुमोदन गरी शुक्रबारदेखि कार्यान्वयन गरेको थियो।
हमासले इसराइली जेलमा रहेका तिनै नागरिकहरूलाई रिहा गर्ने सर्त राखेको थियो।
हसमाले पहिलो चरणमा बन्धकमुक्त गरेकाहरू अधिकांश वृद्धवृद्धा, महिला र बालबालिका छन्। उसले युवा र प्रौढलाई पनि बन्धक बनाएर गजा पुर्याएको थियो।
बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।
हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएका थिए।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको अक्टोबर ७ को घटनापछि नेपाल फर्किएका धनबहादुर चौधरीले बताए।
त्यसयता विपिन कुन अवस्थामा छन् भन्नेबारे कहिँकतैबाट सरकारले जानकारी पाएको थिएन।
मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो।
आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् हुन्।
इसराइलले युद्धविराम गरी हमासले बन्धक छोड्ने सहमति अनुमोदन भएपछि विपिन चाँडै फर्कन्छन् भन्ने थियो। तर पहिलो चरणमा ५० भन्दा बढी बन्धक छुट्दा पनि विपिन जोशी किन छुटेनन्?
परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेकी सहसचिव सेवा लम्सालले विपिन जोशी अर्को चरणमा छुट्ने सम्भावना रहेको बताइन्।
त्यसका लागि कतारका सहायक विदेशमन्त्री सोल्तान विन साद अल-मुरैखीसँग गम्भीर छलफल भएको प्रवक्ता लम्सालले जानकारी दिइन्।
‘उहाँले पनि सक्दो प्रयास गर्छौं भन्नुभएको छ,’ लम्सालले भनिन्।
कतारका सहायक विदेशमन्त्री मुरैखी गत साता नेपाल आएका थिए।
प्रवक्ता लम्सालले विपिन पहिलो चरणमा नछुट्नुको पछाडि इसराइल र हमासबीच आन्तरिक सहमति मुख्य कारण हुनसक्ने बताइन्।
‘उहाँहरूको आन्तरिक सहमति कस्तो छ, कुन क्राइटेरियामा भएको छ। त्यसले पनि निर्धारण गरेको होला,’ उनले भनिन्। तर सरकार र परराष्ट्र मन्त्रालय विपिनलाई जतिसक्दो चाँडो बन्धकमुक्त गरी नेपाल ल्याउन अहोरात्र खटिइरहेको उनले बताइन्।
हमासले पहिलो लटमा विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई बन्धकमुक्त गरेको छ। त्यसकारण दोस्रो लटमा विपिन छुट्न सक्नेमा आफूहरू आशावादी रहेको र दूतावासमार्फत् पहल भइरहेको प्रवक्ता लम्सालले जानकारी दिइन्।
‘हामीले विपिनलाई छुटाउन कुनैपनि कसर बाँकी राखेका छैनौं,’ लम्सालले भनिन्, ‘ उहाँ चाँडै फर्कनुहुन्छ भन्नेमा आशावादी छौ।’
हमासले अहिलेसम्म इसराइलबाहेक थाइल्याण्ड, फिलिपिन्स र अमेरिका गरी तीन देशका बन्धकलाई छोडेको छ। त्यसमध्ये सबैभन्दा बढी थाइल्याण्डका छन्।
हमासले पहिलोपटक हिँजोमात्रै ४ वर्षीया अमेरिकी बालकलाई बन्धकमुक्त गरेको थियो।
बन्धकमुक्त गर्ने प्रक्रियामा कतारले सुरू देखिनै भूमिका खेलेको छ। आफ्ना नागरिकलाई बन्धकमुक्त गर्न अमेरिकाले समेत कतारमार्फत नै प्रयास अगाडि बढाएको छ।
गजा क्षेत्रमा लामो समयदेखि सरकार चलाइरहेको हमासलाई कतार सरकाले धेरै अघिदेखि आर्थिक र राजनीतिक सहयोग गर्दै आइरहेको छ।






















