केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि रास्वपाको घरदैलो
वि.सं.२०८० मंसिर १२ मंगलवार ०९:३९
shares

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो दिनको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि घरदैलो गरिरहेको छ।
पार्टी सभापति रवि लामिछानेसहित ७ वटा समूह बनाएर रास्वपाले मंगलबार बिहान साढे ७ बजेबाट घरदैलो थालेको हो। रास्वपाका नेताहरू अहिले टोलटोल घुमेर स्थानीयसँग संवाद गरिरहेका छन्। महोत्तरीको खैरा टोल, रामगोपालपुर, पर्सा टोल, पोखरभिण्डा, बगरा, एकडाँरा र खखनामा डेढ घन्टासम्म घरदैलो गर्ने कार्यक्रम रहेको रास्वपाका सांसद मनिष झाले जानकारी दिए।
‘घरदैलोमा पुगेर यहाँका ग्रामीण भेगका जनताका जीवनशैली, वस्तुस्थिती बुझ्छौं। उनीहरूले हामीसँग गरेका अपेक्षा, हामीले गर्नुपर्ने कामहरूबारे सल्लाह, सुझाव लिन्छौं। त्यसै अनुसार काम पनि गर्छौं,’ उनले भने। घरदैलो सकेपछि जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा दोस्रो दिनको बैठक सुरू हुनेछ।
मगलबार बिहान ८ बजेदेखि ९ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने कार्यसूची तय गरिएको थियो। त्यस्तै ९ देखि १० बजेसम्म संसदीय दलको बैठक बस्ने कार्यतालिका तय गरिएको छ। समय केही तलमाथि हुन सक्ने पनि रास्वपाले जानकारी दिएको छ।
आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन्। पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ।
सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने बताइएको छ।
आजै साँझ साँढे ६ बजे नीति विचार प्रतिनिधिमण्डलको छुट्टै बैठक पनि बस्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका थिए।























