ओलीको पालामा बनेको सिंहदरबार कार्यालय प्रचण्डले गराए अवलोकन
वि.सं.२०८० मंसिर १२ मंगलवार १५:३१
shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबार गद्दी बैठक अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।
ओली प्रधानमन्त्री हुँदा भवनको पुनर्निर्माण कार्य सुरू भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्ष केही दिनअघि मात्र यहाँ सारिएको थियो ।
भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई रेट्रोफिटिङ गरेर पुनः पुरानै अवस्थामा फर्काइएको छ । आज सिंहदरबारमा दुई नेताको छलफल सुरू हुनुअघि प्रधानमन्त्रीले ओलीलाई भवनको अवलोकन गराएका छन् । ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ को समेतको उक्त भवन अवलोकन गरे ।
युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए।
विसं २०७२ को भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्त्विक महत्त्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरणका लागि तत्कालीन प्रम ओलीले निर्देशन दिएका थिए ।






















