रियल म्याड्रिडमा बेलिङ्घमको उच्च लय कायमै, म्यान सिटीका हालान्डलाई कडा चुनौती

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधवार राती भएका खेलमा कीर्तिमानी रियल म्याड्रिडले नापोलीलाई ४-२ गोलले हरायो ।

घरेलु मैदानमा रियलका लागि निको पाज, रोड्रिगो, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता लिएको नापोल त्यसपछि २-२ को स्थितिमा पुगेको थियो । दोस्रो हाफमा पाज र जोसेलुले गोल गर्दै रियल म्याड्रिडको जित सुनिश्चित गरे ।

५ खेलबाट १५ अंक भएको रियल म्याड्रिड यसअघि नै नकआउट चरण पुग्ने पक्का भइसकेको थियो । समूह सीमा ५ खेलबाट ७ अंक भएको नापोली दोस्रोमा छ ।

ब्रागाको ४ अंक छ भने युनियन बर्लिनको २ अंक रहेको छ। अब चारवटै टोलीको एक एक खेल बाँकी छ । बेलिङ्घम यो सिजन उच्च लयमा छन् । उनले च्याम्पियन्स लिगमा मात्र ४ गोल गरेका छन् । प्रतियोगिताको यो सिजन म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड ५ गोलसहित सर्वाधिक गोलकर्ता हुन् ।

बेलिङ्घम च्याम्पियन्स लिगमा रियल म्याड्रिडका लागि आफ्ना सुरुका चार खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी पनि बने । घरेलु लिगमा यो सिजन बेलिङ्घमले ११ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका छन् ।

युरोपियन वर्ष खेलाडी अवार्ड जितेका हालान्डले यो सिजन घरेलु लिगमा १४ गोल गरेका छन् । म्यान सिटी पनि जारी च्याम्पियन्स लिगमा नकआउट चरण पुगिसकेको छ ।

यता म्यानचेस्टर युनाइटेड भने पहिलो चरणबाटै बाहिरिने संघारमा पुगेको छ । समूह ए अन्तर्गत बुधवार राती गलासतारेसँग बराबरीमा रोकिएपछि म्यान युनाइटेडको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको हो । समूहमा बायर्न म्युनिख ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ ।

एफसी कोपेनहेगन र गलासतारेको समान ५ अंक छ भने म्यान युनाइटेड ४ अंकसहित समूहको अन्तिम स्थानमा छ। म्यान युनाइटेड अन्तिम खेलमा बायर्न म्युनिखसँग खेल्ने छ ।

१४,मंसिर.२०८०,बिहीबार ०८:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्